म छोरी, तर कमजोरी होइन,
घरको ढोकामा उज्यालोको चाबी जस्तै।

सबैका आँखा मुनि नदेखिने त भएँ,
तर म बिना यो आँगन अधुरो जस्तै।
भान्साको धुवाँमा बुबाको सपना पोलिन्छ,
आमाको आँसु माझ्दै मेरो हात चल्छ।
भाइको पढाइ, बहिनी को चाहना,
सबैको भार मेरो काँधमा पल्छ।
बाल्यकालको खेलौनालाई चुल्होमा राखेँ,
सपनालाई भाँडाकुँडासँगै पकाएँ।
तर मुस्कान भने कहिल्यै हराइन्,

किनकि म थाकेर पनि घर चलाएँ।
मलाई संसारले केवल छोरी भन्यो,
तर मैले आफ्नै अर्थ लेखेँ
छोरी, जसले आफ्नो थकाइ भुलेर
घरको जिम्मेवारी काँधमा बोकेर
उज्यालो र आशाको घाम उमार्छे।
म छोरी हुँ, इज्जत जोगाउनु छ,
सपना र सम्मान दुवै बचाउनु छ।
आगो भए जस्तो हिम्मत देखाउनु छ,
किन कि म छोरी हुँ।
कवि कोपिला धामी दार्चुला बहुमुखी क्याम्पसकी हुन्।



















