आज आठ महिनापछि
फर्किएँ म आफ्नै जन्मघर।
जहाँ तीन दाजुभाइ, तीन दिदीबहिनीका
हाँसोहरू अझै भित्तामा टाँसिएका छन्,
जहाँ बालापनका पाइला
अझै आँगनको धुलोसँग खेलिरहेका छन्।
यही घरले सिकायो हिँड्न,
यही घरले सुनायो आमाको लोरी,
बाजैका कथाहरू,
बुवाको माया,
र दिदीबहिनीसँगका अनगिन्ती बालखेल।

समयले भने आफ्नै बाटो समात्यो।
दिदीहरू आफ्नै घर गए,
हामी तीन भाइ पढाइ र जिम्मेवारीको खोजीमा टाढियौँ।
बुबाआमा उमेरसँगै तराई झर्नुभयो।
र घर…….
घर एक्लै बसिरह्यो।
आज ढोका खोल्दा लाग्यो—
घर मसँग रिसाएको रहेछ।
मानौँ एक सय तीन डिग्री ज्वरोले थलिएको बिरामी,
बोल्न नसके पनि
हरेक चर्किएको पर्खालले
मलाई धेरै कुरा सुनाइरहेको थियो।
हिजो रातिको मुसलधारे वर्षाले
माथिको बाटोबाट बगेको भेलले
आँगनभरि बालुवा र ढुङ्गा थुपारेछ।
कहिल्यै रंगीन देखिने फूलबारी
आज मौन थियो।
सेतो चुनाले पोतिएका भित्ताहरूमा
पहेंला र काला घाउ पलाएका रहेछन्।
आँगनका पिँढीहरू चर्किएका रहेछन्।
धारामा झार उम्रिएको रहेछ।
भान्साघर, गोठ, शौचालय, बाथरुम—
सबै मेरो प्रतीक्षामा थाकेका रहेछन्।
आँपका रूखले प्रशस्तै फल दिएछन्,
तर खाने कोही नभएर
आँगनभरि झरेका आँपहरू
आफ्नै सुगन्धसँगै कुहिरहेका रहेछन्।

कागतीका रूख, फूलका बोटहरू,
सबैले एउटै प्रश्न सोधेजस्तो लाग्यो—
“तिमीहरू कहिले फर्कन्छौ ?”
त्यस क्षण
मेरा आँखाबाट आँसु झरेछन्।
मलाई थाहै भएन।
यसअघि पनि
बाजै बित्नुभएको बेला
घरको ढोकामा भोटे ताला झुण्डिएको देख्दा
यति नै पीडा भएको थियो।
आज भने
सम्झनाहरूले त्यो पीडालाई अझ गहिरो बनाए।
घर केवल इँटा, ढुङ्गा र काठ होइन रहेछ।
घर त आमाको काख रहेछ,
बाजैको आशीर्वाद रहेछ,
दिदीबहिनीको हाँसो रहेछ,
र बालापनको अमूल्य इतिहास रहेछ।
सायद हामी संसारका जुनसुकै सुविधामा बाँचौँ,
जुनसुकै सहरमा घर बनाऔँ,
तर जन्मघरको माया
कहिल्यै पुरानो हुँदैन।
अब हामी सबै मिलेर फर्कनेछौँ।
पालैपालो घर सम्हाल्नेछौँ।
आँगनको बालुवा हटाउनेछौँ।
चर्किएका पर्खालमा फेरि आशाका रङ पोत्नेछौँ।
र त्यो बिरामी घरलाई
फेरि हाँसोले भरिने घर बनाउनेछौँ।
किनकि……..
जन्मघर कहिल्यै बुढो हुँदैन,
बुढो त केवल हाम्रो फर्किने समय हुन्छ।
र जन्मघर……..
अन्तिम साससम्म
हामीलाई नै कुरिरहन्छ।


















