कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–४ शान्तिपुरकी स्वर्णिमा कँडेल संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने भएकी छन्। उग्रतारा बाल विद्यालयमा कक्षा १० मा अध्ययनरत कँडेल युनिसेफ नेपालकी युवा अधिवक्तासमेत हुन्।
सन् २०२६ सेप्टेम्बर २१ देखि २५ सम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन उनी अमेरिका जान लागेकी हुन्।


अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनुअघि उग्रतारा बाल विद्यालयले बिहीबार विशेष कार्यक्रम आयोजना गरी स्वर्णिमाको बिदाइ गरेको छ। उनी शुक्रबार बेलौरीबाट काठमाडौं हुँदै अमेरिका प्रस्थान गर्नेछिन्।
विद्यालयका प्रधानाध्यापक केशव सिंह बिष्टका अनुसार स्वर्णिमाले बाल अधिकारको प्रवर्द्धन, किशोरी सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवीसम्बन्धी पहलमा सक्रिय सहभागिता र प्रतिबद्धताका आधारमा युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै युवा अधिवक्ताका रूपमा महासभासँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउनेछिन्।
कार्यक्रमका क्रममा उनले विश्वका विभिन्न देशका युवाहरूसँग छलफल तथा अन्तरक्रियामा सहभागी हुनुका साथै विभिन्न साइड इभेन्टहरूमा आफ्ना अनुभव, विचार र दृष्टिकोण प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछिन्। साथै, बालबालिका तथा युवाका अधिकार, उनीहरूको कल्याण र किशोरी सशक्तीकरणका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा राख्ने अवसरसमेत पाउनेछिन्।
स्वर्णिमाको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले बेलौरी क्षेत्रको शैक्षिक तथा युवा सहभागिताको पहिचानलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने विद्यालयले जनाएको छ।

















