कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा झैझगडा गरेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंसिर २६ गते वडा प्रहरी कार्यालय महेन्द्रनगरको परिसरबाहिर झैझगडा भएको विषयमा सामाजिक सञ्जालमा भिडियो प्रसारित भएको थियो। उक्त घटनामा भीमदत्त नगरपालिका–५ का २२ वर्षीय राजेश लुहार र वडा नं. १७ का १५ वर्षीय विशाल कोली घाइते भएका थिए।


घटनासम्बन्धी निवेदन प्राप्त भएपछि प्रहरीले मंसिर २९ गते साँझ पक्ष–विपक्षका व्यक्तिलाई छलफलका लागि बोलाएको थियो। छलफलका क्रममा वडा प्रहरी कार्यालय महेन्द्रनगरको गेट अगाडि पुनः विवाद तथा झैझगडा भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, भीमदत्त–१७ का १५ वर्षीय विशाल कोली, भीमदत्त–५ का २६ वर्षीय रोहित लुहार, २२ वर्षीय रोशन लुहार र २७ वर्षीया निशा लुहारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।


















