बेलौरी– बेलौरी नगरपालिकाले पहिलो चरणमा तहगत स्थायी शिक्षक व्यवस्थापन प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा नगरपालिकाले प्राथमिकता क्रमका आधारमा ६ वटा सामुदायिक विद्यालयमा राहत शिक्षकलाइ साटेर स्थायी शिक्षक पठाउने तयारी गरेको हो ।
साउन ५ गते नगरपालिकाले स्थायी शिक्षकलाई विद्या रोज्न भन्दै सुचना जारी गरेको थियो । सुचना जारी भएको ४ महिनापछि ६ वटा विद्यालयका राहत शिक्षकसङ्ग साटेर स्थायी शिक्षकको टुंगो लगाइको हो । बेलौरी नगरपालिकाका शिक्षा अधिकृत अमित प्रसाद भट्टले तहगत स्थायी शिक्षक राहत शिक्षकसङ्ग साटिएको मात्रै बताए । उनिसङ्ग कुन बिद्यालयमा को कहाँ गए ? अन्यको हकमा के हुन्छ ? भन्दा आफुलाइ कुनै जानकारी नभएको भन्दै जवाफ दिन चाहेनन ।


यसबारे नगरपालिकाको विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यदलका संयोजक अर्जुन ढकालसङ्ग बुझ्दा उनले पहिलो चरणमा ६ विद्यालयमा पठाइने तहगत स्थायी शिक्षकको टुङ्गो लगाएको बताए । जसमा ४ वटा माध्यमिक तहका विद्यालय छन भने २ आधारभुत तहका विद्यालय रहेका छन् ।
नगरपालिकाले दरबन्दी मिलान नभएको विद्यालय रोज्न जारी गरेको सूचनाका आधारमा शिक्षकहरुले छनोट गरेका विद्यालयमा स्थायी शिक्षक व्यवस्थापन गरिएको ढकालले बताए । उनका अनुसार दोस्रो चरणमा बाकी रहेका ४ वटा मा.वि सहितका अन्य विद्यालयमा कार्यपालिकाको निर्णयबाट व्यवस्थापन गरिने छ ।
बेलौरी नगरपालिकाले पहिलो चरणमा माद्यामिक तहतर्फ कल्याण मा वि पौलाह, त्रिभुवन मा.वी रतनपुर, भगवानपुर मा.वि भुडा र शान्ती मा.वि शान्तीपुरमा तहगत स्थायी छनोट भएका छन । त्यस्तै आधारभुत तहतर्फ दुर्गा आ.वि मटैया र कृष्ण आ.वि रिछाहमा स्थायी शिक्षक छनोट भएका छन ।
















