अत्तरिया – कैलालीको अत्तरियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले मौलिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू खेम कोइराला, ज्ञानेन्द्र महत, जनक धामी लगायतको सहभागिता रहेको थियो ।

अत्तरिया चौराहा नजिकैको महोत्सव मैदानमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, देउसी–भैलो तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएका छन ।

कार्यक्रमको उद्देश्य मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै विभिन्न जातजाति र समुदायबीच एकता, सद्भाव र आपसी सम्बन्ध सुदृढ बनाउनु रहेको रास्वपा गोदावरी नगर समितिका अध्यक्ष आशिष धामीले बताए ।
धामीका अनुसार स्थानीय कलाकार, युवा समूह तथा विभिन्न सांस्कृतिक प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय पहिचान र व्यवसायको प्रवर्द्धनमा समेत कार्यक्रमले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममार्फत देउसी–भैलो जस्ता मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउँदै संस्कृति संरक्षण, सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ । कार्यक्रम अहिले जारी रहेको छ ।



















