अछाम – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौवटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो ।
बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित ¥याली निकालिएको थियो । ¥यालीमा क्रिकेट खेलप्रेमी, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

मैदानभित्र र बाहिर सुदूरपश्चिम रोयल्सका समर्थकले निकै माया देखाएकाले त्यसैअनुरूप टिमले उपाधि जित्न सफल भएको भन्दै धन्यवाद दिन ट्रफी यात्रा सुरु गरिएको रोयल्सका निर्देशक जगत टमट्टाले बताए । उनले क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलकुदको विकासमा समेत सकारात्मक सन्देश दिन प्रसिद्ध धार्मिक क्षेत्र बैजनाथबाट ट्रफी यात्रा सुरु गरिएको बताए ।
अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ । यस्तै, मङ्सिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला, १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी पु¥याइनेछ ।
मङ्सिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टुर हुनेछ । कैलालीको टीकापुर पार्कबाट सुरु हुने यात्रा चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा चाँदनी पुलसम्म ¥याली निकालिनेछ ।
ट्रफी टुरको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा ¥यालीसहित सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले यसअघि सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
यसअघिका दुई संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको रोयल्सले तेस्रो संस्करणको उपाधि जितेको थियो ।


















