काठमाडौँ । शुक्रबारबाट हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र ‘माया बस्छ कि के हो !’ । यी तीनै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । फरक विषयवस्तु बोकेका तीनै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा निर्माण युनिटहरूले गरेका छन् ।
‘झिँगे दाउ २’

अघिल्लो भागको सफलतापछि दर्शकमाझ निकै हाइप बनाएको ‘झिँगे दाउ २’ यस साताको मुख्य आकर्षण हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी लगायतका चल्तीका कलाकारहरूको बाक्लो उपस्थिति छ । पारिवारिक कथा र हास्यरसलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको यस फिल्मले देशभरका मल्टिप्लेक्सहरूमा उच्च शोज पाएको छ भने सुखद ओपनिङ गर्ने बलियो संकेत देखाएको छ ।
फिल्मको बुधबार साँझ प्रिमिएर भएको थियो । कलाकर्मी, रंगपत्रकार र अन्य बिशिष्ट ब्यक्तित्वहरुको सहभागीता रहेको कार्यक्रममा फिल्म प्रसंसा पाउन सफल रह्यो । फिल्म अघिल्लो भाग भन्दा पनि निकै रमाइलो र उत्कृष्ट बनेको प्रतिक्रियाहरु प्रिमिएरमा सहभागीले दिएका छन् । कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

‘कार्की साइँला’
जितु नेपालको भिन्न अवतार रहेको फिल्म हो ‘कार्की साइँला’ । सधैँ हास्य कलाकारको रूपमा चिनिएका जितु यसपटक गाउँले परिवेशको एक भरियाको गम्भीर भूमिकामा प्रस्तुत फिल्ममा देखिनेछन् । राजेन्द्र बस्नेतको निर्देशनमा बनेको यो फिल्मले भरियाको जीवन संघर्ष, प्रेम, विवाह र समाजको हेपाइलाई मार्मिक ढंगले उठाएको छ । फिल्ममा जितुलाई जोडीमा प्रियाना आचार्यले साथ दिएकी छन् ।
बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन् । दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहेको फिल्मलाई कुबेर फिल्मस्ले वितरण गर्दैछ ।
‘माया बस्छ कि के हो !’
राजु अधिकारीको निर्देशन रहेको युरोपको बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्ड र स्वदेशमा खिचिएको फिल्म शरद अधिकारी र बहादुर सिंह तामाङ निर्माता रहेका छन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्म रबिन्द्र बरालले खिचेका हुन् ।
फिल्ममा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, रिचा थापालगायतको अभिनय छ । फिल्मलाई नेशनल सिने ग्रुपले वितरण गरेको छ ।

















