काठमाडौं – अविनाशविक्रम शाहको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘तिनीहरू’ (Elephants in the Fog) काे प्रधानमन्त्री बालेन शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचार गरेपछि झन चर्चा चुलिएको छ । उनले सामाजिक सञ्जालमा यस फिल्मको पोष्टर राख्दै प्रचार गरेका छन ।
यो फिल्म प्रधानमन्त्री शाहले चर्चामा ल्याउनु अघी नै अन्तरारष्ट्रिय मञ्चमा चर्चा बटुलिसकेको फिल्म हो ।

याे फिल्म अन्तर्राष्ट्रिय मञ्चमा चर्चा बटुल्दै ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्दै छ।
कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा प्रदर्शन हुँदै जुरी पुरस्कार जितेको यो फिल्म नेपालका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि बनेको छ। फिल्मले २०२६ को कान्समा विश्व प्रिमियर गरेको थियो।
‘तिनीहरू’को कथा नेपालको जंगलले घेरिएको एउटा गाउँमा बसोबास गर्ने किन्नर समुदायकी अगुवा पिरतीको वरिपरि घुम्छ। पिरती आफूले प्रेम गर्ने पुरुषसँग गाउँ छाडेर नयाँ जीवन सुरु गर्ने योजनामा हुन्छिन्। तर समुदायकी एक युवती हराएपछि उनको खोजीमा लाग्नुपर्ने अवस्था आउँछ। यही क्रममा प्रेम, व्यक्तिगत स्वतन्त्रता र समुदायप्रतिको जिम्मेवारीबीचको द्वन्द्वलाई फिल्मले प्रस्तुत गरेको छ।

फिल्मको कथामा गाउँ वरपर देखिने जंगली हात्तीको त्रास पनि महत्वपूर्ण पृष्ठभूमिका रूपमा रहेको छ। हात्तीको आक्रमणबाट त्रसित गाउँ र हराएकी युवतीको खोजीलाई जोड्दै फिल्मले किन्नर समुदायको जीवन, सामाजिक दृष्टिकोण र उनीहरूले भोग्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ।
फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ। फिल्मको पटकथा अविनाशविक्रम शाह र सन्दीप बादलले लेखेका हुन्।
नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको सहकार्यमा निर्माण भएको फिल्मको निर्माणमा अनुप पौडेल, जस्टिन पेचबर्टी, माइकल हेनरिक्स र डेमियन मेघेर्बी लगायत संलग्न छन्। फिल्मको अवधि १०३ मिनेट रहेको छ।
‘तिनीहरू’ नेपालमा भदौ १९ गते अर्थात् सेप्टेम्बर ४, २०२६ देखि प्रदर्शनमा आएको हो। अहिले नेपालका विभिन्न सिनेमा हलमा यसको प्रदर्शन भइरहेको छ।
यसअघि शाहको लघु फिल्म ‘लोरी’ पनि कान्समा पुगेको थियो। ‘लोरी’ले २०२२ को कान्स फिल्म फेस्टिभलमा विशेष सम्मान पाएको थियो। शाहले ‘शाम्बाला’ लगायतका फिल्ममा पटकथा लेखनमा समेत काम गरेका छन्।
‘तिनीहरू’ले कान्समा पाएको सफलतापछि ओस्कारको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्न लागेसँगै नेपाली फिल्मको अन्तर्राष्ट्रिय यात्रालाई थप महत्वका साथ हेरिएको छ।



















