अत्तरिया – कैलालीको अत्तरियामा सशस्त्र वन रक्षकका लागि बनाउने भनिएका चार वटा भवन निर्माणकै क्रममा अलपत्र अवस्थामा रहेका छन् । अत्तरियाको पूर्व रोडमा रहेको दुर्गा मन्दिर पछाडिको क्षेत्रमा भवनको फाउण्डेसन तयार गरेर पर्खाल उठाइएका भए पनि छाना हालिएको छैन । लामो समयदेखि निर्माण कार्य अघि नबढ्दा भवन भित्र र वरपर बाक्लो झाडी उम्रिएको छ भने संरचनाहरू जीर्ण बनेका छन् । ती भवन के प्रयोजनका लागि निर्माण गर्न लागिएका हुन् भन्ने विषयमा स्थानीय बासिन्दासमेत स्पष्ट जानकारीमा छैनन् ।
स्थानीय डिभिजन वन कार्यालयका कर्मचारीका अनुसार ती संरचना वन तथा भू–संरक्षण विभागअन्तर्गत सशस्त्र वन रक्षक वा सशस्त्र वन रक्षक तालिम केन्द्रका लागि निर्माण सुरु गरिएको जानकारी भए पनि थप जानकारी नभएको जनाएका छन् । तर भवन निर्माणको विस्तृत योजना, बजेट, ठेक्का सम्झौता, निर्माण कम्पनी तथा काम किन रोकियो भन्ने विषयमा कार्यालयसँग थप जानकारी नरहेको वनका कर्मचारीहरूको भनाइ छ ।

वन तथा भू–संरक्षण विभागको वार्षिक प्रगति प्रतिवेदनले भने कैलालीमा सशस्त्र वन रक्षक क्याम्पका लागि भवन निर्माण भइरहेको उल्लेख छ । आर्थिक वर्ष २०७८÷७९ को प्रगति विवरणमा सर्लाही, रुपन्देही र बाँकेमा सशस्त्र वन रक्षक क्याम्पका भवन निर्माण सम्पन्न भएको तथा सुनसरी र कैलालीमा भवन निर्माण कार्य हुँदै गरेको उल्लेख गरिएको छ । कैलालीमा उक्त संरचनाको निर्माण आर्थिक वर्ष २०७८/०७९ मै अघि बढाइएको भए पनि त्यसपछि अलपत्र अवस्थामा छोडिएको छ । सरकारले सशस्त्र वन रक्षकका लागि संरचना निर्माण सुरु गरे पनि वर्षौँ बितिसक्दा भवन अधुरै रहँदा सरकारी रकमको दुरुपयोग भएको छ ।

यो स्थानमा गोदावरी नगरपालिकाले अत्तरियामा पार्क निर्माण गर्ने योजना पनि अघि बढाएको थियो । अत्तरियामा पार्क निर्माणका लागि करिब ६ हेक्टर क्षेत्रफलको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारिएको थियो । जसका लागि नगरपालिकाले घेरबार समेत गरेको थियो । नगरपालिकाले ८ वर्ष अघि पार्क निर्माणको लागि २० लाख खर्चेर घेर बार समेत गरेको थियो ।
सुरक्षा सामुदायिक वन सँगै जोडिएको सो क्षेत्रमा पार्क बनाउने भन्दै वनस्पति अनुसन्धान केन्द्र कैलालीले पनि आर्थिक वर्ष २०७३/७४ मा ५ लाख खर्च गरेर पार्कका संरचना निर्माण गरेको थियो ।

तर, अत्तरियामा पार्क निर्माण गर्ने योजनाअनुसार प्रक्रिया अघि बढिरहेका बेला सोही जग्गामा वन कार्यालयले सशस्त्र वन रक्षक तालिम केन्द्र निर्माण गर्ने भन्दै भवन निर्माण सुरु गरेको थियो । एउटै जग्गामा एक अर्कालाई मास्दै तीन तीन वटा योजना अघि बढाइएका भए पनि हालसम्म एउटा पनि योजना पुरा भएको छैन ।

पार्क निर्माण योजना पनि अलपत्र
गोदावरी नगरपालिका–अन्तर्गत अत्तरियामा पार्क निर्माणका लागि पटक–पटक योजना र बजेट आए पनि वर्षौंदेखि कार्यान्वयन हुन सकेको छैन । करिब सात वर्षअघि अघि सारिएको पार्क निर्माण योजना अझै अलपत्र अवस्थामा छ ।
अत्तरिया पूर्वरोडस्थितसुरक्षा सामुदायिक वन क्षेत्रमा ६ हेक्टर जग्गा पार्क निर्माणका लागि छुट्याइएको थियो । नगरपालिकाले उक्त क्षेत्रमा डिपिआर तयार गरी घेराबारसमेत गरेको थियो । तर वन कार्यालयले सोही क्षेत्रको करिब डेढ हेक्टरमा सशस्त्र वन रक्षक तालिम केन्द्र निर्माण थालेपछि पार्कका लागि थप ६ हेक्टर क्षेत्र छुट्याए पनि पार्क निर्माण गर्ने योजना कार्यान्वयन हुन सकेन ।
पार्क निर्माणका लागि गोदावरी नगरपालिकाले २० लाख रुपैयाँ र वनस्पति अनुसन्धान केन्द्र कैलालीले ५ लाख रुपैयाँ खर्च गरिसकेका छन् । संघीय सरकारले समेत ‘अत्तरिया पार्क’ निर्माणका लागि ४ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको थियो । पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत संघीय सरकारको ३ करोड २२ लाख र नगरपालिकाको १ करोड ७२ लाख रुपैयाँ साझेदारीमा पार्क निर्माण गर्ने योजना थियो ।
तर बजेट विनियोजन भएको लामो समय बितिसक्दा पनि निर्माण अघि बढ्न सकेको छैन । बढ्दो शहरीकरण र जनघनत्वका बीच अत्तरियामा खुला तथा सार्वजनिक क्षेत्रको आवश्यकता बढिरहेका बेला पार्क निर्माणको योजना भने कागजमै सीमित बनेको छ ।

















