अछाम– अछाममा नेपाली कांग्रेसको १५औ महाधिवेशन अन्तरगतको प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन सम्पन्न गर्नका लागि सहजीकरण समिति गठन गरिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा १० असोजमा हुन गइरहेको अधिवेशनमा सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनाउनका लागि अछाम–२ मा सात सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।
महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति तथा प्रदेश ‘क’ र ‘ख’ कार्यसमितिमा सहमतिबाट नेतृत्व चयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न समिति गठन गरिएको क्षेत्रीय उपसभापति ताराप्रसाद खनालले जानकारी दिए ।


उनकाअनुसार क्षेत्रीय कार्यसमितिका सभापति पुष्पराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको सुदूरपश्चिम प्रदेशका सह–महामन्त्री अम्बिका चलाउनेको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।
समितिमा कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, पूर्वसांसद रामबहादुर विष्ट, सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैना, महासमिति सदस्यद्वय सुरतबहादुर विष्ट र पदमराज अधिकारी तथा क्षेत्रीय कार्यसमितिका सभापति शर्मा सदस्य रहेका छन् ।
क्षेत्रीय कार्यसमिति बैठकले पार्टीभित्रको एकता र सहकार्यलाई कायम राख्दै अधिवेशनलाई सौहार्दपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गर्न समितिलाई जिम्मेवारी दिएको उपसभापति खनालले बताए ।

















