धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा बिना सूचना अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले उनको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सदर गरेका हुन्।

देउवा गत वर्ष भदौ २८ गतेदेखि अमेरिकामा छन्। स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि उतै बसेका उनी ११ महिना बितिसक्दा पनि नेपाल फर्किएका छैनन्।

प्रदेशसभा सचिवालयका अनुसार दोस्रो कार्यकालमा बसेका १२८ बैठकमध्ये देउवा ६० बैठकमा मात्रै उपस्थित भएका छन्। पछिल्ला २७ बैठकमा भने उनको हाजिरी छैन।
यस अवधिमा उनले प्रदेशसभाबाट पारिश्रमिक तथा विभिन्न सेवा–सुविधाबापत ७ लाख ५३ हजार ५ सय रुपैयाँभन्दा बढी रकम बुझेका छन्। देउवा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्।

















