धनगढी – धनगढीमा मादक पदार्थ सेवन (मापसे) चेकिङमा खटिएका तीन प्रहरी कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका छन्।

बुधबार राति धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्पनजिक से ३ प ८९५० नम्बरको मोटरसाइकलले चेकिङमा खटिएका प्रहरीलाई ठक्कर दिएको हो।

दुर्घटनामा प्रहरी हवल्दार राधिका कुमारी शाही, उज्वलसिंह साउँद र प्रहरी सहायक हवल्दार कमला खत्री घाइते भएका छन्। उनीहरूको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक कञ्चनपुरको पुनर्वास–११ का २३ वर्षीय आशिष चौधरी र पछाडि सवार कैलाली बर्दगोरिया–६ का १७ वर्षीय समीर चौधरीलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
















