खाेज्नुहाेस

स्वास्थ्य बहसका लागि महोत्सव

Image

सामान्यतया महोत्सव भन्नासाथ हाम्रो मानसपटलमा गीतसंगीत, मनोरञ्जन, सांस्कृतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी र किनमेलको दृश्य आउँछ । महोत्सवलाई कला, संस्कृति, पर्यटन र व्यापार प्रवद्र्धनको माध्यमका रूपमा लिने परम्परा लामो समयदेखि चल्दै आएको छ । तर समयसँगै महोत्सवको उद्देश्य र स्वरूपमा पनि परिवर्तन देखिन थालेको छ ।

यही सन्दर्भमा कैलालीको अत्तरियामा आयोजना गरिएको स्वास्थ्य युवा महोत्सव एउटा फरक र सकारात्मक प्रयासका रूपमा देखिएको छ । मनोरञ्जन र व्यापारलाई केन्द्रमा राखेर आयोजना गरिने महोत्सवभन्दा फरक यसले नागरिकको स्वास्थ्य, स्वास्थ्य सचेतना, रोगको पहिचान, उपचारसम्बन्धी परामर्श र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । महोत्सवको यो अवधारणाले महोत्सव केवल रमाइलो गर्ने र व्यापार बढाउने थलो मात्र होइन, समाजलाई उपयोगी सन्देश दिने र नागरिकको जीवनसँग प्रत्यक्ष जोडिने अभियान पनि बन्न सक्छ भन्ने देखाएको छ ।

attariya hospital

आजको समाजमा स्वास्थ्यसम्बन्धी चुनौतीहरू बढिरहेका छन् । बदलिँदो खानपान, अस्वस्थ जीवनशैली, शारीरिक व्यायामको कमी, वातावरणीय प्रदूषण र मानसिक तनावले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेका छन् । तर विडम्बना, हामीमध्ये धेरैजसो बिरामी भएपछि मात्रै स्वास्थ्य संस्थामा पुग्ने गर्छौं । सामान्य स्वास्थ्य परीक्षणलाई आवश्यक प्राथमिकता दिने बानी अझै विकास हुन सकेको छैन । रोगको प्रारम्भिक पहिचान र समयमै उपचारको महत्व बुझ्न नसक्दा सामान्य स्वास्थ्य समस्या पनि जटिल बन्दै जाने गरेको छ । यस्तो अवस्थामा स्वास्थ्य परीक्षण र परामर्शलाई उत्सवकै रूपमा समुदायसम्म पु¥याउने प्रयास आफैँमा महत्वपूर्ण छ ।

navjiwan hospital

यस महोत्सवको अर्को महत्वपूर्ण पक्ष मानसिक स्वास्थ्यलाई दिइएको प्राथमिकता हो । पछिल्लो समय युवापुस्तामा मानसिक तनाव, निराशा, असुरक्षा र विभिन्न मनोसामाजिक समस्या बढ्दै गएका छन् । तर मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने वातावरण अझै पर्याप्त छैन । मानसिक समस्यालाई कमजोरीका रूपमा हेर्ने सामाजिक सोचले समस्या थप जटिल बनाएको छ । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी परामर्श, सचेतना र सहज संवादलाई यस्ता सार्वजनिक कार्यक्रमसँग जोड्नु आवश्यक छ ।

स्वास्थ्य र समृद्धिबीच प्रत्यक्ष सम्बन्ध छ । स्वस्थ नागरिक नै उत्पादनशील समाजको आधार हुन् । नागरिक स्वस्थ भए मात्रै शिक्षा, रोजगारी, उद्यम, व्यवसाय र आर्थिक गतिविधिमा प्रभावकारी सहभागिता जनाउन सक्छन् । त्यसैले स्वास्थ्यलाई व्यक्तिगत विषयका रूपमा मात्र सीमित राख्नु हुँदैन । यो राज्यको विकास, सामाजिक न्याय र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण आधार हो ।

यद्यपि, स्वास्थ्य युवा महोत्सव आयोजना गर्नु मात्रै पर्याप्त हुँदैन । यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धिलाई निरन्तरता दिनु अझ महत्वपूर्ण हुन्छ । महोत्सवमा गरिएको स्वास्थ्य परीक्षणपछि आवश्यक उपचार र थप परामर्शको व्यवस्था, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतना विस्तार र युवाको मानसिक स्वास्थ्यमा नियमित ध्यान दिन सके मात्रै यसको वास्तविक उपलब्धि देखिनेछ । साथै, यस्ता कार्यक्रमलाई राजधानी वा सहर केन्द्रित नराखी स्थानीय तहसम्म विस्तार गर्न आवश्यक छ ।

महोत्सवको वास्तविक अर्थ समाजलाई जोड्नु, नयाँ सोच स्थापित गर्नु र सकारात्मक परिवर्तनको बाटो देखाउनु पनि हो । त्यसैले स्वास्थ्य युवा महोत्सवजस्ता प्रयासलाई एउटा कार्यक्रमका रूपमा मात्र नहेरी सामाजिक अभियानका रूपमा विकास गर्न आवश्यक छ । मनोरञ्जनसँगै नागरिकको स्वास्थ्य र भविष्यलाई प्राथमिकता दिने महोत्सवको संस्कार विकास गर्न सके मात्रै यस्ता आयोजनाको सार्थकता स्थापित हुनेछ ।