खाेज्नुहाेस

अनुगमन सँगै, निरन्तर निगरानी आवश्यक

Image

कैलालीको गोदावरी नगरपालिकामा पछिल्ला केही दिनयता सार्वजनिक भएका खाद्यवस्तुसँग सम्बन्धित घटनाले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । दूधमा किरा भेटिएको गुनासो, खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री गरिएको घटना तथा स्यालको मासु काटिएको विषयले बजारमा बिक्री हुने वस्तुको गुणस्तर र त्यसको निगरानी कति प्रभावकारी छ भन्ने प्रश्न जन्माएको छ ।

यी घटनाको वास्तविकता परीक्षण र अनुसन्धानबाट स्पष्ट हुने विषय हुन् । तर, घटना जे भए पनि यसले उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका खाद्यवस्तुको नियमित अनुगमन आवश्यक हुने महत्वपुर्ण पक्ष उजागर गरेको छ । कुनै वस्तुमा समस्या देखिएपछि मात्रै अनुगमन गर्ने र त्यसपछि केही समय बजार शान्त रहने प्रवृत्तिले दीर्घकालीन समाधान दिन सक्दैन ।

attariya hospital

यसैबीच गोदावरी नगरपालिकाले बुधबारदेखि बजार तथा खाद्यवस्तुको अनुगमन सुरु गरेको छ । पछिल्ला घटनापछि स्थानीय सरकारको ध्यान यस विषयमा केन्द्रित हुनु स्वाभाविक हो । तर, एक–दुई दिनको अनुगमनले मात्र उपभोक्ताको विश्वास पूर्ण रूपमा फर्काउन सक्दैन । त्यसका लागि अनुगमनलाई नियमित, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक छ ।

navjiwan hospital

नगरपालिकाले विगतमा पनि चाडपर्वलाई लक्षित गरी समय–समयमा बजार अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत तथा अखाद्य वस्तु बरामद गरी नष्ट गर्ने गरिएको छ । तर, पटक–पटकको अनुगमनमा पनि बजारमा अखाद्य तथा मापदण्डविपरीतका वस्तु भेटिनुले अहिलेको अनुगमन प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

सामान बरामद गरेर नष्ट गर्नु मात्रै प्रभावकारी कारबाही होइन । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायीमाथि प्रमाण र कानुनका आधारमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन सकिएमा मात्रै यस्ता गतिविधि निरुत्साहित गर्न सकिन्छ । अन्यथा अनुगमन हुने, सामान बरामद हुने र नष्ट गरिने क्रम दोहोरिइरहने तर बजारमा समस्या भने कायमै रहने अवस्था आउन सक्छ ।

बजार अनुगमनको अर्थ पसलमा पुगेर सामान हेर्नु वा व्यवसायीलाई निर्देशन दिनुमात्र पनि होइन । दूधको गुणस्तर परीक्षण, मासुको स्रोत र बिक्री प्रक्रिया, पसलको सरसफाइ, खाद्यवस्तु भण्डारणको अवस्था, म्याद गुज्रिएका वस्तुको बिक्री तथा उपभोक्ताबाट आउने गुनासोको तत्काल सुनुवाइसमेत अनुगमनको महत्वपूर्ण हिस्सा बन्नुपर्छ । नमुना संकलन गरी परीक्षण गरिएका वस्तुको नतिजा सार्वजनिक गर्न सके त्यसले उपभोक्तालाई समेत सचेत बनाउनेछ ।

कारबाही घटना भएपछि मात्रै गर्ने होइन, गल्ती दोहोरिन नदिने व्यवस्था निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । दोषी देखिए कानुनअनुसार कारबाही र निर्दोष व्यवसायीमाथि अनावश्यक त्रास सिर्जना नहुने गरी प्रमाणमा आधारित प्रक्रिया अघि बढाउनुपर्छ ।

गोदावरीमा पछिल्ला घटनाले स्थानीय सरकार, सम्बन्धित निकाय, व्यवसायी र उपभोक्ता सबैलाई सचेत बनाएको छ । अहिले सुरु भएको अनुगमनलाई नियमित बजार निगरानी, नमुना परीक्षण, प्रभावकारी गुनासो सुनुवाइ र स्पष्ट कारबाही प्रणालीसँग जोड्न आवश्यक छ । उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा अनुगमन देखाउने कार्यक्रम होइन, निरन्तर चल्ने जिम्मेवारी बन्नुपर्छ ।