खाेज्नुहाेस

शिक्षा किताबमा मात्र होइन, मानवीयतामा पनि खोजौँ

Image

विद्यालयलाई सामान्यतया ज्ञान आर्जन गर्ने, परीक्षा दिने र भविष्य निर्माणको आधार तयार गर्ने थलोका रूपमा बुझिन्छ । तर शिक्षाको वास्तविक उद्देश्य किताबी ज्ञान हासिल गर्नुमा मात्र सीमित छैन । असल नागरिक निर्माण गर्नु, मानवीय संवेदना जगाउनु र समाजप्रति उत्तरदायी बन्न सिकाउनु पनि शिक्षाकै महत्वपूर्ण पक्ष हुन् । कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले सुरु गरेको खाद्य बैंक र कपडा बैंकको अभियानले शिक्षाको यही व्यापक अर्थलाई उजागर गरेको छ ।

विद्यालयमा अध्ययनरत एक बालिकाले दुई दिनदेखि खाना नखाएको पीडादायी घटना सार्वजनिक भएपछि सुरु भएको खाद्य बैंक स्थापनाको सोचले विद्यार्थीको पारिवारीक अवस्थालाई पनि केही हदसम्म कम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । पेटभरि खाना खान नपाएको अवस्थामा विद्यार्थीबाट राम्रो शैक्षिक उपलब्धिको अपेक्षा गर्नु कति उचित होला ? भोक, अभाव र पारिवारिक तनावबीच गुज्रिरहेका बालबालिकाका लागि नियमित पठनपाठन मात्रै पर्याप्त हुँदैन । उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न पनि विद्यालय र समुदायले उत्तिकै ध्यान दिनुपर्छ ।

attariya hospital
navjiwan hospital

दुर्गालक्ष्मी विद्यालयको यो पहलले यही यथार्थलाई आत्मसात् गरेको छ । विद्यालयले ३९ विद्यार्थीका परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्नु र प्रत्येक महिनाको अन्तिम हप्ता सहयोगलाई निरन्तरता दिने निर्णय गर्नु सकारात्मक कदम हो । ‘हुनेले दिने, नहुनेले लगेर जाने’ भन्ने मान्यताले समाजमा सहयोग, सहकार्य र समानताको भावना विकास गर्न मद्दत पु¥याउन सक्छ । यस्तो अभ्यासले विद्यार्थीलाई पाठ्यपुस्तकबाट मात्रै होइन, व्यवहारबाट पनि मानवता सिकाउँछ ।

नेपालमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीको पारिवारिक अवस्था समान छैन । कतिपय परिवारलाई दैनिक छाक टार्नै कठिन छ भने कतिपय बालबालिका अभिभावकको सम्बन्धविच्छेद, पारिवारिक कलह र असुरक्षित वातावरणको सामना गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरूको कमजोर शैक्षिक प्रदर्शनलाई अल्छीपन वा लापरबाहीका रूपमा मात्रै हेर्नु न्यायोचित हुँदैन । विद्यार्थीको व्यवहार र सिकाइमा पारिवारिक तथा सामाजिक परिस्थितिको प्रभाव बुझ्न आवश्यक छ ।

यद्यपि, खाद्य बैंक र कपडा बैंकजस्ता अभियान दीर्घकालीन समाधानको विकल्प भने होइनन् । विद्यालयले आवश्यकतामा रहेका विद्यार्थीको पहिचान गर्दा उनीहरूको आत्मसम्मान र गोपनीयताको रक्षा गर्नुपर्छ । सहयोग पाउने विद्यार्थीले अरूभन्दा आफूलाई कमजोर महसुस गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन । साथै, अभियानलाई निरन्तर सञ्चालन गर्न अभिभावक, स्थानीय सरकार, व्यवसायी र सामाजिक सङ्घसंस्थाबीच सहकार्य आवश्यक छ ।

दुर्गालक्ष्मी विद्यालयको प्रयास अन्य सामुदायिक विद्यालयका लागि पनि प्रेरणा बन्न सक्छ । शिक्षा क्षेत्रमा राज्यको दायित्व महत्वपूर्ण छ, तर समुदायले आफ्नो जिम्मेवारीबाट विमुख हुन मिल्दैन । भोकै पेट र अभावग्रस्त जीवनबीच बालबालिकाको भविष्य खोज्नुभन्दा पहिले उनीहरूका आधारभूत आवश्यकता पूरा गर्नुपर्छ । किनकि शिक्षाको उज्यालो त्यतिबेला मात्रै सार्थक हुन्छ, जब त्यसले किताब पढ्न सिकाउनुका साथै दुःखमा परेकालाई सहयोग गर्न पनि सिकाउँछ ।