अत्तरिया– कैलालीको अत्तरियामा आयोजित स्वास्थ्य युवा महोत्सवमा करिब ५ हजार बढीको स्वास्थ्य परिक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश युवा चेम्बर अफ कमर्स र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा मंसिर २ देखि ६ गतेसम्म सञ्चालन भएको महोत्सवमा ५ हजार २०० जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।
नेपाल चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष प्रमोद अधिकारीका अनुसार महोत्सवमा आँखा, कान, दाँत, महिला स्वास्थ्य, अपाङ्गता तथा सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । स्वास्थ्य परीक्षण तथा सेवा प्रवाहका लागि विभिन्न तहका ७० जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिए । उनका अनुसार ८ हजार बढीले महोत्सवको अवलोकन गरेका थिए ।


महोत्सवमा स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य शिक्षा, मानसिक स्वास्थ्य, लागूऔषध न्यूनीकरण तथा विभिन्न स्वास्थ्य समस्याबारे सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । प्यानल छलफल, परामर्श तथा अन्तरक्रियामा विद्यार्थी, ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका करिब २ हजार ५०० जनाको सहभागिता रहेको अधिकारीले बताए ।
त्यस्तै, महोत्सवमा २५ जना चिकित्सक र १५ जना विषयविज्ञले प्यानलमा छलफल, परामर्श तथा अन्तरक्रियामा सहभागिता जनाएका थिए । उनीहरूले मानसिक स्वास्थ्य, लागूऔषध दुव्र्यसन न्यूनीकरण, स्वास्थ्य शिक्षा तथा विभिन्न स्वास्थ्य समस्याका विषयमा जानकारी र सुझाव दिएको चेम्बरका जिल्ला अध्यक्ष अधिकारीले बताए ।
महोत्सवले स्वास्थ्य परीक्षणमा पहुँच नपुगेका नागरिकलाई सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको उनको विश्वास छ । विशेषगरी युवालाई स्वास्थ्यका विषयमा सचेत बनाउने, मानसिक स्वास्थ्यबारे खुलेर छलफल गर्ने वातावरण निर्माण गर्ने र लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवको उद्घाटन मंसिर २ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गरेका थिए । ६ दिनसम्म सञ्चालन भएको महोत्सव आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रममा स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।



















