खाेज्नुहाेस

धनगढीमा पुस २१ देखि सातौँ खप्तड गोल्डकप, विजेतालाई २१ लाख

Image

धनगढी– सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता सुदूरपश्चिम खप्तड गोल्डकपको सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । सुदूरपश्चिम–११ स्पोट्र्स क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति, पुरस्कार राशि र तयारीबारे जानकारी गराएको हो ।

क्लबका अनुसार धनगढी रंगशालामा पुस २१ देखि माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीसहित १० वटासम्म टोलीको सहभागिता रहनेछ । क्लबका महासचिव प्रकाश शाहीले सुदूरपश्चिममा फुटबल खेलको विकास र विस्तार गर्नुका साथै प्रदेशको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

attariya hospital
navjiwan hospital

२०७३ सालदेखि निरन्तर आयोजना हुँदै आएको खप्तड गोल्डकपलाई यस वर्ष थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी गरिएको उनले जानकारी दिए । प्रतियोगिताले स्थानीय प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै युवामा फुटबलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । खेलाडी तथा पदाधिकारीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।

क्लबका अध्यक्ष योगेन्द्र चन्दले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी, खेलकुदसम्बद्ध संघसंस्था तथा खेलप्रेमीको सहयोग आवश्यक रहेको बताए । खप्तड गोल्डकपले सुदूरपश्चिममा फुटबलको विकाससँगै खेल पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक गतिविधि बढाउन योगदान पु¥याउने आयोजकको विश्वास छ ।