अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६ लालपुरबाट लागूऔषध (हिरोइन) सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लालपुरकै २७ वर्षीय प्रकाश चोखाल र १९ वर्षीय अविषेक चौधरी रहेका छन्।

प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः३० बजे विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले चोखालको घरमा छापा मारेको थियो।

सो क्रममा दुवै जना चोखालको घरको कोठाभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला परेका थिए। प्रहरीले चोखालको घरबाट शुद्ध तौल ३ ग्राम ३४० मिलिग्राम लागूऔषध (हिरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको प्रहरीले जनाएको छ।



















