मणिपुर – भारतको मणिपुरस्थित चन्देल जिल्लामा विषाक्त मदिरा पिउँदा १५ जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी आईएनएसका अनुसार ६ सय भन्दा बढी मानिसहरु विभिन्न अस्पतालहरुमा भर्ना भएका छन् । तीमध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्थानीयका अनुसार पछिल्लो २–३ दिनयता यो घटना सतहमा आएको छ । मदिरा पिएपछि मानिसहरुको स्वास्थ्यमा समस्या देखिएको थियो । यद्दपि मदिरा कहाँबाट ल्याइएको थियो भन्ने जानकारी आधिकारिक निकायसँग अहिलेसम्म आइसकेको छैन ।

सन् २०२६ मा विषाक्त मदिरा सेवनबाट मध्यप्रदेश, गुजरातसहित ६ राज्यमा १२० भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

प्रहरीका अनुसार प्रभावित मानिसहरुले जुन मदिरा सेवन गरेका थिए, त्यसलाई मणिपुरको कोकचिङ जिल्लाका सुगनूसँग खरिद गरिएको भारतको सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरर्को छ । जाँचमा मदिरामा मेथानोल मिलाइएको आशंका गरिएको छ । अहिलेसम्म यस घटनामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्देल जिल्लामा स्थानीय स्तरमा मदिरा बन्ने गरेको कुनै जानकारी नआएको प्रहरीले बताएको छ । यस्तोमा अन्यत्र जिल्लाबाट मदिरा ल्याएर उक्त ठाउँमा बिक्री गरिएको प्रहरीको अनुमान छ । प्रहरीले मदिरा सप्लाइ गर्नेहरुलाई खोजिरहेको छ ।
केही समयअघि मात्र मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा सेवनबाट ३६ जनाको मृत्यु भएको थियो । यस घटनामा प्रहरीले ५२ जनालाई आरोपी बनाएको छ । मास्टरमाइन्ड, ठेकेदार र सप्लायरसमेत ३४ जना आरोपीलाई पक्राउ गरिसकिएको छ ।
नागाल्यान्डमा पनि विषाक्त मदिरा पिउँदा १९ जनाको मृत्यु भएको थियो । प्रहरीले कयौं क्षेत्रमा छापा मारेको थियो । यस कारबाहीमा १९ जनालाई पक्राउ गरिएको थियो भने ३ हजार बढी मदिराका बोतल जफत समेत गरिएको थियो । भारतको सर्वोच्च अदालतले १८ सेप्टेम्बरमा मदिराको समस्याको समाधान नभएको बताएको थियो ।





















