खाेज्नुहाेस

देहीजातमा मेलौलीमा दुई दिन बिदा, मदिरा निषेध

Image

बैतडी– बैतडीको मेलौलीस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक देहीजातलाई लक्षित गर्दै दुई दिन बिदा दिईएको छ । मेलौली नगरपालिकाले जात्राको अवसरमा यही मंसीर ७ र ८ गते दुई दिन स्थानिय सार्वजनिक बिदा दिएको हो ।

जात्रालाई शान्तिपूर्ण र मर्यादित बनाउन मेला अवधिभर मदिराको बिक्री–वितरण तथा सेवनमा समेत प्रतिबन्ध लगाइएको छ । नगरपालिकाले जारी गरेको सूचनाअनुसार आगामी मंसिर ७ र ८ गते नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थामा स्थानीय सार्वजनिक बिदा दिइनेछ । देहीजातमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहने भएकाले जात्रामा सहज सहभागिता सुनिश्चित गर्न नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

attariya hospital
navjiwan hospital

मेलौली भगवती मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन परम्परागत रूपमा देहीजात लाग्ने गर्दछ । धार्मिक आस्था, स्थानीय संस्कृति र परम्परासँग जोडिएको यस जात्रामा बैतडीसहित आसपासका विभिन्न क्षेत्रबाट भक्तजन तथा दर्शनार्थी आउने गर्दछन् ।

यसैबीच, जात्राको समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै धार्मिक तथा सांस्कृतिक वातावरण कायम राख्न नगरपालिकाले मदिराजन्य पदार्थको कारोबार र सेवनमा रोक लगाएको हो । मंसिर ७ र ८ गते मन्दिर आसपासका क्षेत्रमा मदिरा बिक्री–वितरण तथा सेवन गर्न नपाइने नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम मदिराको कारोबार तथा सेवनमा प्रतिबन्ध लगाइएको उल्लेख गर्दै नगरपालिकाले सूचनाको उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । जात्रालाई शान्त, सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न नगरपालिकाले स्थानीयवासी, व्यवसायी तथा सरोकारवाला सबैलाई निर्णयको पालना गर्न आग्रह गरेको छ ।