धनगढी – अन्तर्राष्ट्रिय सीमा रेखाले मानवीय सेवाको भावना रोक्न सक्दैन भन्ने उदाहरण धनगढी उपमहानगरपालिकाले प्रस्तुत गरेको छ । भारतको सीमावर्ती बजार वनगाउँमा भएको भीषण आगलागी नियन्त्रणका लागि धनगढीले आफ्ना दमकल, नगर प्रहरी र आवश्यक उपकरण परिचालन गरेर छिमेकीलाई सहयोग गरेको छ ।
कैलालीको धनगढीबाट केही किलोमिटरको दूरीमा रहेको भारतको खिरी जिल्लास्थित वनगाउँ बजारमा लक्ष्मी पूजाको राति आगलागी भएको थियो । आगलागीको खबर पाएलगत्तै धनगढी उपमहानगरपालिकाले तीन वटा दमकल, नगर प्रहरी र एउटा ब्याकुलोडरसहितको टोली घटनास्थल पठाएको थियो ।


उपमहानगरपालिकाको टोलीले आगो फैलिन नदिन ब्याकुलोडरमार्फत फायर लाइन बनाएको थियो । तीन वटा दमकलले पटक–पटक पानी भरेर आगो निभाउने प्रयास गरेका थिए । राति साढे १२ बजेसम्ममा आगलागी नियन्त्रणमा आएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताएका छन् ।
वनगाउँ बजार आसपास भारतीय सुरक्षाकर्मी र प्रहरीको उपस्थिति रहे पनि आगलागी नियन्त्रणका पर्याप्त उपकरण थिएनन् । बजारबाट करिब २५ किलोमिटर टाढा रहेको पलियाबाट दमकल आइपुग्न समय लाग्ने अवस्था थियो । यस्तो अवस्थामा धनगढीको तत्कालीन सहयोगले थप क्षति हुनबाट बजारलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
आगलागीबाट वनगाउँ बजारका धेरै पसलमा क्षति पुगेको छ । तर, विपद्का बेला सीमापारिबाट पुगेको सहयोगले दुई देशका सीमावर्ती नागरिकबीचको सम्बन्ध र स्थानीय तहको मानवीय जिम्मेवारीलाई समेत उजागर गरेको छ ।
धनगढी उपमहानगरपालिकाको यो कदमले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका आफ्नो भूगोलभित्र मात्र सीमित नहुने र मानवीय संकटमा छिमेकीलाई सहयोग गर्नु पनि स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको सन्देश दिएको छ ।
















