सुदूरपश्चिमको क्रिकेट विकासका लागि वर्षौंदेखि चर्चामा रहँदै आएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। रंगशालाको पूर्वाधार निर्माणका लागि सरकारले बोलपत्र (टेन्डर) आह्वान गरेको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरेसँगै अब यो वहुवर्षीय आयोजनाका रुपमा निर्माण कार्यको प्रारम्भिक प्रक्रिया सुरु भएको हो।


कार्यालयले धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्वाधार निर्माणका लागि योग्य निर्माण कम्पनीसँग विद्युतीय माध्यमबाट बोलपत्र माग गरेको छ। सूचनामा बोलपत्रको धरौटी रकम ५४ लाख रुपैयाँ तोकिएको छ।
योसँगै लामो समयदेखि चर्चामा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सपना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। फाप्ला निर्माण अभियानसँग जोडिएका अभियन्ताहरूले यसलाई वर्षौँदेखिको सपना, संघर्ष र धैर्यले ऐतिहासिक मोड लिएको उपलब्धिका रूपमा व्याख्या गरेका छन्।
उनीहरूका अनुसार परियोजनालाई यहाँसम्म ल्याउन जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र राष्ट्रिय आयोजना बैंकमा समावेश गर्नेलगायतका प्रक्रिया पूरा गर्नुपरेको थियो।
फाप्ला निर्माण भएपछि धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्ने र सुदूरपश्चिमको खेलकुद तथा आर्थिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। परियोजना अघि बढेसँगै आगामी वर्षहरूमा नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका घरेलु तथा बाह्य मैदानका खेल फाप्लामै आयोजना गर्ने लक्ष्यसमेत राखिएको छ।





















