खाेज्नुहाेस

कर छुट सुविधाबारे व्यवसायीलाई जानकारी गराउँदै अत्तरिया उद्योग वाणिज्य संघ

Image

अत्तरिया– सरकारले व्यवस्था गरेको करछुटको बारेमा व्यवसायीहरुलाई जानकारी गराउन अत्तरिया उद्योग वाणिज्य संघले प्रचार थालेको छ । लामो समयदेखि कर विवरण पेस गर्न नसकेका तथा कर दायित्व भुक्तानी गर्न बाँकी रहेका उद्योगी तथा व्यवसायीलाई सरकारले दिएको कर छुटको अवसरबारे जानकारी गराउन संघले प्रचार प्रसार गरिरहेको हो ।

सरकारले आर्थिक ऐन, २०८३ मार्फत कर छुट तथा सहुलियतको व्यवस्था गरेपछि संघले उक्त सुविधाबारे व्यवसायीलाई सुसूचित गर्न अत्तरियाका विभिन्न क्षेत्रमा अटोमा माइकिङ गरिरहेको छ भने सूचना पनि जारी गरेको छ । कर छुटको अवसरबारे जानकारी अभावमा कुनै पनि व्यवसायी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले सडकस्तरमै पुगेर प्रचारप्रसार गरिएको संघले जनाएको छ ।

attariya hospital

संघका अध्यक्ष कमल कडायतले सरकारले उपलब्ध गराएको कर छुटको सुविधाबारे सबै व्यवसायीलाई जानकारी गराउन आवश्यक रहेकाले माइकिङमार्फत प्रचारप्रसार सुरु गरिएको बताए । कतिपय व्यवसायीलाई करसम्बन्धी पुराना विवरण तथा दायित्वबारे जानकारी भए पनि सरकारले उपलब्ध गराएको छुट सुविधाबारे जानकारी नहुन सक्ने भएकाले सबैसम्म सूचना पु¥याउने प्रयास गरिएको उनको भनाइ छ ।

navjiwan hospital

उनले व्यवसायीले यस्तो अवसरलाई सदुपयोग गर्दै तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताए । करसम्बन्धी समस्या रहेका व्यवसायीले समयमै सम्बन्धित निकायबाट आवश्यक जानकारी लिएर सुविधा लिनसमेत उनले आग्रह गरे ।

संघले जारी गरेको सूचनाअनुसार व्यवसाय दर्ता गरी आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) नलिएका, प्यान लिएर पनि कारोबार नगरेका, कारोबार गरे पनि कर विवरण पेस नगरेका तथा विवरण पेस गरे पनि कर दाखिला नगरेका करदाताले यस सुविधाबाट लाभ लिन सक्नेछन् ।

त्यसैगरी, संशोधित कर निर्धारणउपर चित्त नबुझाई मुद्दा वा पुनरावेदनमा गएका करदातालाई समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार सम्बन्धित करदाताले २०८३ साल पुस मसान्तभित्र आफूले तिर्नुपर्ने कर र सोको एक प्रतिशतले हुने रकम दाखिला गरी निवेदन पेस गरेमा जरिवाना, थप दस्तुर, शुल्क, विलम्ब शुल्क तथा ब्याज तिर्नु नपर्ने संघले जनाएको छ ।

करसम्बन्धी पुराना दायित्वका कारण समस्यामा परेका व्यवसायीका लागि यो अवसर महत्वपूर्ण हुन सक्ने भन्दै संघले समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । व्यवसायीलाई करसम्बन्धी जानकारी र आवश्यक सूचनामा पहुँच पु¥याउनु पनि आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै संघले माइकिङमार्फत कर छुटको समयसीमा, सुविधा पाउने अवस्था र अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी गराइरहेको छ ।

संघले अत्तरिया क्षेत्रका सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यवसायीलाई यस अवसरको सदुपयोग गर्दै पुस मसान्तभित्रै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।