अत्तरिया – कैलालीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ भरुवाबाट २ ग्राम ४८० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित ३० वर्षीय हिमाल खत्री पक्राउ परेका छन्। शुक्रबार साँझ पैदल हिँडिरहेका उनलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।


यसैगरी, जानकी गाउँपालिका–७ जवलपुरबाट १ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने ३० वर्षीय रमेश मगर र सोही नगरपालिका–२ बस्ने २६ वर्षीय कमल चौधरी रहेका छन्।
उनीहरूलाई शुक्रबार राति पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
दुवै घटनामा पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


















