खाेज्नुहाेस

दुई वर्षको पीडा भुलाउँदै सुदूरपश्चिमले लेख्यो जितको नयाँ इतिहास

Image

अत्तरिया – दुई वर्ष लगातार फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्सले अन्ततः तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको छ। शनिबार भएको तेस्रो संस्करणको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले तीन वर्षदेखिको उपाधि सपना पूरा गरेको हो।

एनपीएलको पहिलो संस्करणदेखि नै उपाधिको बलियो दाबेदारका रूपमा देखिएको सुदूरपश्चिमको यो यात्रा सहज भने रहेन। पहिलो संस्करण २०२४ मा जनकपुर बोल्ट्ससँग फाइनलमा भिडेको सुदूरपश्चिम पाँच विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। दोस्रो संस्करण २०२५ मा पनि फाइनलसम्मको यात्रा तय गरेको टोलीलाई लुम्बिनी लायन्सले निराश बनाएको थियो। उक्त फाइनलमा सुदूरपश्चिम ८५ रनमै समेटिएको थियो।

attariya hospital

लगातार दुई पटक फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको टोलीले तेस्रो संस्करणमा भने आफ्नो पुरानो इतिहास बदल्न सफल भयो। यसपटक पनि लुम्बिनीसँगको प्रतिस्पर्धा सुदूरपश्चिमका लागि सहज थिएन। लिग चरण र पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो। टोलीले ३९ बल बाँकी छँदै १५८ रन बनाउँदै १० विकेटको शानदार जित निकाल्यो।

सुदूरपश्चिमको जितका नायक बने स्कटल्यान्डका जर्ज मुन्से। उनले ५४ बलमा अविजित १२५ रन बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रनको कीर्तिमानसमेत बनाए। उनको विस्फोटक ब्याटिङमा ८ चौका र १२ छक्का समावेश थिए। उनलाई साथ दिएका विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाए। दुवैले पहिलो विकेटका लागि अविजित साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३० र निरोशन डिक्वेलाले २८ रन बनाएका थिए। सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए।

यो जितसँगै सुदूरपश्चिम रोयल्स एनपीएलको तीनवटै संस्करणको फाइनल पुग्ने पहिलो टोलीका रूपमा मात्र होइन, तेस्रो प्रयासमा उपाधि जित्ने टोलीका रूपमा पनि इतिहासमा दर्ज भएको छ। पहिलो संस्करणको उपविजेता, दोस्रो संस्करणको उपविजेता हुँदै तेस्रो संस्करणको विजेता बन्नु टोलीको निरन्तरता र धैर्यको परिणाम हो।

तीन वर्षसम्मको प्रतीक्षा, दुई पटकको फाइनल हार र तेस्रो पटकको ऐतिहासिक जितले सुदूरपश्चिमको एनपीएल यात्रा केवल एउटा क्रिकेट उपाधिमा सीमित रहेन। यसले सुदूरपश्चिमका समर्थकलाई लामो समयदेखि प्रतीक्षा गरिएको खुसी दिएको छ।

navjiwan hospital

कसले के जिते ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्दा विभिन्न व्यक्तिगत विधाका पुरस्कारमा भने फरक–फरक टोलीका खेलाडीले बाजी मारेका छन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलपछि आयोजित पुरस्कार वितरण समारोहमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनले प्रतियोगिताभर २१७ रन बनाउनुका साथै ७ विकेट लिएका थिए। उनले पुरस्कारस्वरूप ५ लाख रुपैयाँ प्राप्त गरे।

चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकालले सर्वाधिक व्यक्तिगत पुरस्कार जिते। उनी उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ओमोडा कार प्राप्त गर्न सफल भए। साथै प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका उनले उत्कृष्ट बलरको अवार्डसँगै पल्सर मोटरसाइकल र गोल्डेन क्याप पनि जिते। गोल्डेन क्यापसँगै उनले २ लाख रुपैयाँ प्राप्त गरे।

त्यस्तै, विराटनगर किङ्सका लोकेश बम उत्कृष्ट ब्याटर घोषित भए। उनले प्रतियोगितामा नेपाली खेलाडीमध्ये सर्वाधिक २४२ रन बनाएका थिए। पुरस्कारस्वरूप उनले पल्सर मोटरसाइकल प्राप्त गरे।

जनकपुर बोल्ट्सका १६ वर्षीय बलर राहुल यादव उदयीमान खेलाडी घोषित भए। प्रतियोगितामा १२ विकेट लिएका उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरे।

चितवन राइनोजकै कमिल मिशारा रेडबुल इनर्जेटिक प्लेयर घोषित भए। उनले पुरस्कारस्वरूप २ लाख रुपैयाँ प्राप्त गरे। त्यस्तै, प्रतियोगितामा सर्वाधिक २९४ रन बनाएका पोखरा एभेन्जर्सका युभराज सामराले प्लेटिनम क्याप जित्दै २ लाख रुपैयाँ प्राप्त गरे।

फाइनल खेलमा अविजित १२५ रनको शतकीय इनिङ खेलेका सुदूरपश्चिम रोयल्सका जर्ज मुन्से प्लेयर अफ द म्याच घोषित भए। त्यस्तै, लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गर्‍यो।

तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाएको छ। तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गरेका छन्।