मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिममा पनि भारी देखी अति भारी वर्षा हुने मौसम पुर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाले सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा दार्चुला, बाजुरा र बझाङलाई उच्च जोखिममा राखेको छ । त्यसो भन्दैमा अन्य जिल्लाहरुमा भारी वर्षा नहुने भने हैन । महाशाखाको सूचनाले सुदूरपश्चिममा थप सावधानी आवश्यक रहेको स्पष्ट गरेको छ ।

वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम बढ्न सक्छ । पहाडी जिल्लामा पहिरो र भू–क्षयको जोखिम रहँदा तराईका क्षेत्रमा नदी तथा खोलानालामा पानीको सतह बढेर डुबान हुन सक्ने सम्भावना हुन्छ । त्यसैले जोखिमलाई केवल पहाडी क्षेत्रमा मात्रै सीमित हुने विषयका रूपमा बुझ्नु हुँदैन । सुदूरपश्चिमका सबै जिल्लाले सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी गर्न आवश्यक छ ।

सबैभन्दा महत्वपूर्ण कुरा पूर्वसूचनालाई गम्भीरतापूर्वक लिनु हो । महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार प्रदेशमा बाढीको पूर्वसूचना दिन ३६ वटा रडार लेभल सेन्सर जडान गरिएका छन् । ती उपकरणले पानीको बहावसम्बन्धी तथ्याङ्क हरेक १० मिनेटमा उपलब्ध गराउने व्यवस्था छ । जोखिम बढेमा मोबाइलमार्फत सन्देश पठाउने व्यवस्था पनि रहेको छ । प्रविधिको यस्तो प्रयोगले सम्भावित विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित हुन महत्वपूर्ण अवसर दिन सक्छ ।
तर पूर्वसूचना प्रणाली प्रभावकारी हुनु मात्र पर्याप्त हुँदैन । प्राप्त सूचना नागरिकसम्म समयमै पुग्नुपर्छ र नागरिकले पनि त्यसलाई बेवास्ता गर्नु हुँदैन । स्थानीय तह, सुरक्षा निकाय, सञ्चारमाध्यम, गैरसरकारी संस्था तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक छ । जोखिमयुक्त बस्तीमा माइकिङ गर्ने, सुरक्षित स्थान पहिचान गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने तथा आवश्यक परे जोखिममा रहेका परिवारलाई समयमै सुरक्षित स्थानमा सार्ने कामलाई प्राथमिकता दिनुपर्छ ।
अझै पनि कतिपय ठाउँमा विपद् आएपछि मात्र तयारी गर्ने प्रवृत्ति देखिन्छ । यस्तो सोचले मानवीय तथा भौतिक क्षति बढाउन सक्छ । छोटो समयमा धेरै वर्षा हुने अवस्थामा केही घण्टाको बेवास्ता पनि ठूलो जोखिमको कारण बन्न सक्छ । त्यसैले अहिलेको आवश्यकता त्रास फैलाउनु होइन, सचेतना बढाउनु हो । मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्ने, नदी तथा खोलाको किनारमा अनावश्यक आवतजावत नगर्ने र जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले स्थानीय तह तथा सुरक्षा निकायको निर्देशन पालना गर्ने संस्कार विकास गर्नुपर्छ ।
विपद् रोक्न नसकिए पनि यसको क्षति घटाउन सकिन्छ । त्यसका लागि पूर्वसूचना, पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई व्यवहारमा उतारौँ । समयमै सचेत बनौँ, सम्भावित जोखिमबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।













