खाेज्नुहाेस

दार्चुलाको मोटरेबल पुल प्रधानमन्त्री शाह र मोदीले संयुक्त उद्घाटन गर्ने

Image

दार्चुला– नेपाल र भारतलाई सडक सञ्जालमार्फत जोड्ने दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने भएका छन् । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) भर्चुअल माध्यमबाट पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको भारतीय पक्षले जनाएको छ ।

भारतको धारचुला तहसिलका तहसिलदार दमनशेखर राणाका अनुसार उद्घाटनको समय भने निर्धारण भइसकेको छैन । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएपछि पुल क्षेत्रमा सजावट तथा भर्चुअल प्रविधि जडानको तयारी भइरहेको उनले बताए । उद्घाटनका लागि आवश्यक तयारी पूरा गर्न भारतको केन्द्र सरकारबाट पत्राचारसमेत भएको उनको भनाइ छ ।

attariya hospital

भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुलको शिलान्यास आर्थिक वर्ष २०७९/८० को असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए ।

navjiwan hospital

भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पञ्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो । महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो दुई लेनको पुल सञ्चालनमा आएपछि नेपाल र भारतबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।

पुल उद्घाटनको तयारीसँगै नेपालतर्फ सुरक्षा तथा भन्सार व्यवस्थापनका लागि अस्थायी संरचना निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए । उनका अनुसार प्रहरी बस्ने संरचना तयार भइसकेको छ भने भन्सार प्रयोजनका लागि अस्थायी संरचना निर्माण भइरहेको छ ।

पुल सञ्चालनमा आएपछि दार्चुलासहित बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज हुनेछ । यसअघि महाकाली नदीमा रहेका झोलुङ्गे पुल तथा तुइनको सहायताबाट जोखिमपूर्ण रूपमा सीमा पार गर्नुपर्ने बाध्यता रहेकाले मोटरेबल पुल सञ्चालनले स्थानीयलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, पुल सञ्चालनले नेपाल–भारतबीचको व्यापारिक गतिविधि विस्तार गर्न तथा स्थानीय कृषिउपज, जडीबुटी र अन्य उत्पादनको सीमापार व्यापार प्रवद्र्धन गर्न सहयोग पुग्ने व्यवसायीहरूको विश्वास छ । भारतबाट आउने पर्यटकलाई सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुने भएकाले यसले क्षेत्रीय पर्यटन विकासमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।