अत्तरिया– कैलालीको अत्तरियामा व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै MRP (अधिकतम खुद्रा मूल्य) लेबलसम्बन्धी तालिम सञ्चालन हुने भएको छ । उद्योग तथा वाणिज्य कार्यालय धनगढीसँगको सहकार्यमा यही मंसिर १२ गते शनिबार अत्तरिया उद्योग वाणिज्य संघले तालिमको आयोजना गर्न लागेको हो ।
संघका अध्यक्ष कमल कडायतले व्यवसायी तथा उद्यमीहरूलाई MRP लेबलसम्बन्धी जानकारी दिने उद्देश्यले तालिमको आयोजना गर्न लागिएको बताए । उनले सो अवधीमा व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने विषयमा परामर्श प्रदान समेत दिईने बताए ।


संघकै सभाहलमा शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने तालिम पश्चात व्यवसायी तथा उद्यमीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने परामर्श तथा MRP लेबलका बारेमा ज्ञान हुने आयोजकले विश्वास लिएको छ । संघले अत्तरियाका सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई तोकिएको समय र स्थानमा उपस्थित भई तालिममा सहभागी हुन आग्रह गरेको छ ।
व्यवसायीलाई व्यावसायिक गतिविधिसँग सम्बन्धित नयाँ नियम, प्रक्रिया र आवश्यक जानकारी प्रदान गर्न तालिम उपयोगी हुने अपेक्षा गरेको संघका अध्यक्ष कडायतले बताए । संघले केही दिन अघि महिनाको दोस्रो र चौथो शनिबार बजार बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णय पनि यस्तै तालिमहरुलाई लक्षित गर्नका लागि गरिएको अध्यक्ष कडायतले बताए ।
उनले व्यवसायीको क्षमता अभिवृद्धि तथा व्यावसायिक ज्ञान विस्तारसँग जोड्नका लागि शनिबार बन्द गर्ने निर्णय गरिएको बताए । दैनिक व्यापारिक गतिविधिमा व्यस्त रहने व्यवसायीलाई आवश्यक तालिम तथा प्रशिक्षणमा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले शनिबारको बिदालाई यस्ता कार्यक्रम सञ्चालन गर्ने अवसरका रूपमा उपयोग गर्न सकिने उनको भनाई छ ।
शनिबार बजार बन्द हुँदा व्यवसायीले पसल तथा व्यवसायको नियमित कामबाट समय निकालेर तालिम, प्रशिक्षण र परामर्श कार्यक्रममा सहभागी हुन पाउने कडायतले बताए ।



















