धनगढी – धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई सहज यातायात सेवा उपलब्ध गराउन ६ वटा विद्युतीय (ईभी) गाडी खरिद गरेको छ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने, स्थानीय उत्पादनको बजारीकरण सहज बनाउने तथा विद्यार्थी र रोजगारीका लागि आवतजावत गर्ने नागरिकलाई सहज यातायात सेवा दिने उद्देश्यले गाडी खरिद गरिएको हो।


उपमहानगरपालिकाले ईभी गाडीमार्फत तीनवटा रुटमा यातायात सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। पहिलो रुट वनवेहडा–वडा नम्बर १७–देवरिया हुँदै धनगढी रहनेछ।
दोस्रो रुट चौमाला–वडा नम्बर १६–वडा नम्बर १५–कनरी हुँदै धनगढीसम्म रहनेछ। त्यस्तै, तेस्रो रुट धनगढीको जुगेडाबाट वडा नम्बर १२ हुँदै वडा नम्बर १०, ९ र ८ भएर धनगढीसम्म प्रस्ताव गरिएको छ।
मेयर गोपाल हमालका अनुसार ग्रामीण क्षेत्रका नागरिकलाई सहरी क्षेत्रमा सहज पहुँच पुर्याउनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र विद्यार्थीको शैक्षिक तथा रोजगारीको पहुँच विस्तार गर्न ईभी गाडी सञ्चालनले सहयोग गर्नेछ।
गाडी सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रको सार्वजनिक यातायात सेवा थप व्यवस्थित र प्रभावकारी हुने उपमहानगरपालिकाको अपेक्षा छ।


















