धनगढी — धनगढी उपमहानगरपालिकाले स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोरको सुरक्षित व्यवस्थापनका लागि स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले वडा नम्बर २ मा स्थापना गरेको केन्द्रको शुक्रबार वडाध्यक्ष धर्मराज ओझाले उद्घाटन गरेका हुन् ।
अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्कने सङ्क्रमणजन्य फोहोरलाई सुरक्षित रूपमा निःसंक्रमण गरी व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन् । उनका अनुसार अब स्वास्थ्य संस्थाबाट उत्पादन हुने फोहोर व्यवस्थित रूपमा सङ्कलन गरी केन्द्रमार्फत प्रशोधन तथा व्यवस्थापन गरिनेछ ।

उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि निःसंक्रमण नगरिएको फोहोरको प्रतिकेजी ६० रुपैयाँ र निःसंक्रमण गरिएको फोहोरको प्रतिकेजी ३५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । वातावरण शाखा प्रमुख अशोक अवस्थीले नेपाल सरकारको ऐन तथा कानुनअनुसार उपमहानगरपालिकाले आफ्नै सवारीसाधन प्रयोग गरेर स्वास्थ्यजन्य फोहोर सङ्कलन गर्ने जानकारी दिए ।
उनका अनुसार सङ्कलन गरिएको फोहोर केन्द्रमा ल्याएर सुरुमा सङ्क्रमणरहित बनाइनेछ । त्यसपछि टिन र प्लास्टिकलगायतका सामग्री छुट्याएर उचित व्यवस्थापन गरिनेछ । धनगढीलाई फोहोर व्यवस्थापनको क्षेत्रमा देशकै नमुना पालिका बनाउने लक्ष्यसहित सामुदायिक तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका कार्यक्रम अघि बढाइएको नगरप्रमुख गोपाल हमालले बताए । केन्द्र सञ्चालनमा आएपछि नगर क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थालाई फोहोर व्यवस्थापनमा सहज हुने उनको भनाइ छ ।
‘एक सय शय्याका अस्पतालले अनिवार्य रूपमा आफ्नै फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्छ। तर, साना अस्पतालमा यस्तो व्यवस्था नहुँदा स्वास्थ्यजन्य फोहोर जथाभावी फाल्ने गरेको पनि पाइएको थियो,’ उनले भने, ‘अब फोहोर व्यवस्थापनमा सहजता हुनेछ । स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नगर्ने संस्थामाथि निगरानी र नियमनलाई पनि कडाइ गरिनेछ ।’
धनगढीलाई फोहोर व्यवस्थापनको नमुना सहरका रूपमा स्थापित गर्न स्थानीयवासी, स्वास्थ्य संस्था तथा सरोकारवाला सबैको सहयोग आवश्यक रहेको नगरप्रमुख हमालले बताए ।















