अत्तरिया– चाडपर्वको समयमा अत्तरियाको बजार क्षेत्रमा देखिने अव्यवस्थित व्यापारिक गतिविधि नियन्त्रण गर्न तथा शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन अत्तरिया उद्योग वाणिज्य संघले स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएको छ । संघले गोदावरी नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीलाई छुट्टाछुट्टै पत्र पठाउँदै बजार व्यवस्थापन, अनुगमन तथा सुरक्षा व्यवस्था कडा बनाउन माग गरेको हो ।
संघले नगरपालिकालाई पठाएको पत्रमा अत्तरिया बजारका विभिन्न चोक तथा सडक किनारमा दर्ता नगरी व्यापार व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । विशेषगरी चाडपर्वको समयमा सडक तथा सार्वजनिक स्थानमा अनधिकृत रूपमा ठेला, गाडा र अन्य माध्यमबाट व्यापार सञ्चालन हुँदा बजार व्यवस्थापनमा समस्या भइरहेको संघको भनाइ छ ।


त्यस्तै, दर्ता तथा राजस्व प्रक्रियामा नआएका केही व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरिरहेको, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा समस्या देखिएको तथा बजार क्षेत्रमा अव्यवस्थित रूपमा खाद्य सामग्री, लत्ताकपडा र अन्य सामान बिक्री वितरण भइरहेको पत्रमा उल्लेख छ । संघले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित बजार अनुगमन, व्यवसाय दर्ता तथा राजस्व संकलन प्रक्रियालाई प्रभावकारी बनाउन र खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न नगरपालिकासँग आग्रह गरेको छ । साथै, सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका ठेला तथा गाडाको व्यवस्थापन गर्न र बजार क्षेत्रको सरसफाइमा ध्यान दिन पनि संघले अनुरोध गरेको छ ।

यसैगरी, संघले चाडपर्वको समयमा बजारमा हुने अत्यधिक भीडभाडका कारण चोरी, लुटपाट तथा अन्य आपराधिक घटना हुन सक्ने जोखिमप्रति इलाका प्रहरी कार्यालय मालाखेतीको ध्यानाकर्षण गराएको छ । संघले सम्भावित दुर्घटना तथा आपराधिक गतिविधि रोक्न बजार क्षेत्रमा सुरक्षा निगरानी बढाउन, नियमित गस्ती गर्न र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीसँग अनुरोध गरेको छ । चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा मनाउने वातावरण निर्माण गर्न स्थानीय सरकार, प्रहरी प्रशासन र व्यवसायीबीच समन्वय आवश्यक रहेको संघले जनाएको छ ।
संघका अध्यक्ष कमल कडायतले चाडपर्वको अवसरमा सुरक्षा र बजारको व्यवस्थापनमा ध्यान दिन नगरपालिका र इलाका प्रहरी कार्यालय मालाखेतीलाई अनुरोध स्वरुप ज्ञापन पत्र बुझाएको बताए । उनले बजार व्यवस्थापन र शान्ति सुरक्षाका विषयमा सम्बन्धित निकायले समयमै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् । उनले बजारको व्यवस्थित सञ्चालन र व्यवसायीको सुरक्षाका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । संघले आगामी दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।





















