खाेज्नुहाेस

तीन महिनासम्म खोज्दा पनि भेटिएनन् हवल्दार भट्ट, कुशको शव बनाएर अन्त्येष्टि

Image

कञ्चनपुर– भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका प्रहरी हवल्दार नरेन्द्रप्रसाद भट्टको तीन महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । परिवारले लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि सोमबार धार्मिक परम्पराअनुसार महाकाली नदीमा अन्त्येष्टि गरेको हो ।

navjiwan hospital

कञ्चनपुरको बेदकोट नगरपालिका–८ आम्थलाका भट्ट रसुवास्थित इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेका बेला भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका थिए । घटनापछि परिवारले उनको सकुशल उद्धार हुने वा शव फेला पर्ने आशामा लामो समयसम्म प्रतीक्षा गरेको थियो । तर तीन महिना बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन । लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।

attariya hospital

‘कतैबाट केही खबर आउँछ कि भन्ने आसमा थियौँ,’ नरेन्द्रका भाइ दिनेशराज भट्टले भने, ‘केही खबर पनि आएन, शव पनि भेटिएन । कति पर्खिने भनेर कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका हौँ ।’ सोमबार महाकाली नदीमा गरिएको अन्तिम संस्कारका क्रममा उनका बुवा खेमराज भट्टले कुशको शवमा दागबत्ती दिएका थिए । तीन महिनासम्म बेपत्ता छोराको कुनै खबर नपाएपछि परिवारले भारी मनले अन्तिम संस्कार गर्नुपरेको हो ।