खाेज्नुहाेस

अपी हिमालमा पर्यटन प्रवर्द्धनसँगै जलवायु संरक्षण अभियान सञ्चालन

Image

दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनसँगै वातावरण संरक्षणको अभियान अघि बढाएको छ ।

सुदूरपश्चिमकै अग्लो अपी हिमालसहित विशाल पाटन, ताल, हिमनदी, गुफा र जैविक विविधताले भरिएको यस क्षेत्रमा चालु आर्थिक वर्षमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ ।

attariya hospital
navjiwan hospital

मकरीगाडदेखि करिब ३४ किलोमिटर दूरीमा रहेको आधार शिविर पुग्न दुई दिन पदयात्रा गर्नुपर्छ । पर्यटकको सुविधाका लागि विभिन्न स्थानमा होमस्टे, होटल तथा टेन्टको व्यवस्था गरिएको छ । स्थानीयलाई पर्यटनसम्बन्धी तालिम दिएर गाइड, भरिया, आवास तथा खाद्य सेवामा सहभागी गराइएको गाउँपालिकाले जनाएको छ ।

तर जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिने, पानीका मुहान सुक्ने र वर्षा चक्रमा फेरबदल आउने समस्या देखिन थालेको छ । यसले कृषि, पशुपालन तथा जडीबुटी सङ्कलनमा निर्भर स्थानीयको जीविकोपार्जनमा असर पारेको छ ।

यसैबीच अपिहिमाल गाउँपालिकाले पर्यटन उत्सव तथा जलवायु संवादका क्रममा अपिहिमाल घोषणापत्र–२०८३ जारी गरेको छ । घोषणापत्रमा जैविक विविधता संरक्षण, जलवायु उत्थानशील जीविकोपार्जन, दिगो पर्यटन, प्राकृतिक स्रोतको संरक्षण र स्थानीय ज्ञान तथा संस्कृतिको प्रवर्द्धनलगायत १७ विषय समेटिएका छन् ।

प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र हिमाली जीवनशैलीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके अपी हिमाल महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने गाउँपालिकाको विश्वास छ ।