खाेज्नुहाेस

आज देखि दसौं राष्ट्रिय खेलकुद सुरु हुँदै

Image

कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको खेलकुदको महाकुम्भ आज मंगलबार सुरु हुँदै छ। औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते गर्ने भए पनि केही खेल आज मंगलबारबाटै खेलाइनेछन्। खेल सुरु हुनुभन्दा एक दिनअघि सोमबार वीरेन्द्रनगरमा निर्माण भएको कर्णाली प्रदेश रंगशालाको उद्घाटन एवं हस्तान्तरण गरिएको छ।

१०औं राष्ट्रिय खेलकुदमा ३२ वटा खेल खेलाइनेछन्। राष्ट्रिय खेलकुद परिषद्का अनुसार सुर्खेतमा सबैभन्दा धेरै २३ खेलका प्रतिस्पर्धा हुनेछन्। कर्णालीका सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा खेलहरू हुनेछन्। यस्तै पुरुष फुटबलतर्फका सेमिफाइनल र फाइनल खेल जुम्लामा खेलाइनेछन् भने महिलाको सेमिफाइनल र फाइनल खेल सुर्खेतको कर्णाली रंगशालामा आयोजना गरिनेछ।

attariya hospital

सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्टस् र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन्। यी खेल वीरेन्द्रनगरस्थित मुख्य रंगशाला, कभर्डहल, सेनाको खेलमैदान, काँक्रेविहार र छिन्चुलगायत स्थानमा सञ्चालन हुनेछन्।

navjiwan hospital

सुर्खेतबाहिर सल्यानको श्रीनगरमा जुडो र कुस्ती, दैलेखको नारायण कभर्ड हलमा आइटिएफ तेक्वान्दो, कालीकोट कभर्ड हलमा बुद्धिचाल र रुकुम पश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता हुनेछ। त्यस्तै जुम्लामा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल खेलाइनेछन्। खेलकुदको महाकुम्भलाई सफल बनाउन संघीयका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहहरू सक्रिय भएका छन्। खेलको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगर बजारमा झाँकीसहितको र्‍याली निकालिएको थियो।

१३३७ पदकका लागि प्रतिस्पर्धा

प्रतियोगीतामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्यका लागि ११ टोलीबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टोली र एनआरएनएको टोली सहभागी हुँदै छन्। हरेक टोलीबाट ३९४ महिला, ३४६ पुरुष गरेर ७४० खेलाडी सहभागी हुनेछन्।

यस्तै प्रत्येक टोलीमा ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्। राष्ट्रिय खेलकुद परिषद्ले पदक विजेताहरूका लागि नगद पुरस्कारको घोषणा गरेको छ। व्यक्तिगततर्फ स्वर्ण जित्नेले २० हजार, रजत जित्नेले १५ हजार र कांस्य जित्नेले आठ हजार पुरस्कार पाउनेछन्। स्वर्ण पदक विजेताले १५ हजार, रजत पदक विजेताले १० हजार र कास्य पदक विजेताले आठ हजार पुरस्कार प्राप्त गर्नेछन्।