अत्तरिया – नेपाल प्रेस युनियन कैलाली शाखाले गोदावरीका मेयरले दिएको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ । युनियनले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारमाथि असहमति भए कानुनी प्रक्रिया अपनाउन सकिने स्मरण गर्दै धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको हो ।
जिल्ला अध्यक्ष सीताराम ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगर प्रमुख जतिको जिम्मेवार व्यक्तिले पत्रकारलाई धम्काउने भाषामा अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको उल्लेख छ । विज्ञप्तिमा धम्कीपूर्ण अभिव्यक्ति सच्याउन पनि मेयर भट्टलाई आग्रह गरिएको छ ।


मेयर भट्टले अत्तरिया अनलाइनले बिहीबार प्रकाशित गरेको समाचारका विषयमा धम्कीपूर्ण अभिव्यक्ति दिँदै ‘म मेयरको पदमा छु जिम्मेवार पदमा छु । मैले बिर्सिन नपरोस् की म मेयर हो । पत्रकार साथीहरूले पनि आफूले नराम्रो काम नगर्ने कहिलेकाहीँ वहाँलाई पनि हामीले यो पत्रकार हो भनेर चाही बिर्सनुपर्ने अवस्था नआओस’ भन्ने अभिव्यक्ति दिएका थिए ।
अत्तरिया अनलाइनले बिहीबार ‘गोदावरीको निःशुल्क शव वाहनले शव बोकेबापत लियो २ हजार शुल्क’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार गलत भएको भन्दै मेयर भट्टले धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।
सम्बन्धीत समाचार : गोदावरीका मेयरलाई पत्रकार महासंघ सुदूरपश्चिमले भन्यो ‘धम्कीपूर्ण अभिव्यक्ति सच्याउ’
: गोदावरीका मेयरले धम्क्याएको विषयमा पत्रकार महासंघको ध्यानाकर्षण

















