अत्तरिया – कैलालीको गोदावरीका मेयर वीरेन्द्र भट्टले दिएको धम्कीपूर्ण अभिव्यक्तिका विषयमा नेपाल पत्रकार महासंघ कैलालीले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै मिडियामा आएका विषयमा असहमति भए कानुनी प्रक्रिया भएकाले मेयर जस्तो जिम्मेवार व्यक्तिले धम्काउने भाषामा अभिव्यक्ति दिनु राम्रो नभएको जनाएको छ ।
‘पत्रकारलाई धम्काउने तर्साउने कुरामा पत्रकार महासंघ सहमत हुन सक्दैन’ महासंघका अध्यक्ष हिमालय जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘समाचारमा कुनै असहमति भए त्यसको समाधानका लागि अन्य निकाय समेत रहेकाले त्यतातर्फ ध्यान दिन पनि सरोकारवाला सबैलाई आग्रह गर्न चाहन्छौँ ।’


मेयर भट्टले अत्तरिया अनलाइनले बिहीबार प्रकाशित गरेको समाचारका विषयमा धम्कीपूर्ण अभिव्यक्ति दिँदै ‘म मेयरको पदमा छु जिम्मेवार पदमा छु । मैले बिर्सिन नपरोस् की म मेयर हो । पत्रकार साथीहरूले पनि आफूले नराम्रो काम नगर्ने कहिलेकाहीँ वहाँलाई पनि हामीले यो पत्रकार हो भनेर चाही बिर्सनुपर्ने अवस्था नआओस्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
अत्तरिया अनलाइनले बिहीबार ‘गोदावरीको निःशुल्क शव वाहनले शव बोकेबापत लियो २ हजार शुल्क’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार गलत भएको भन्दै मेयर भट्टले धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।



















