अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी टहरा तथा खोका हटाउन ७ दिने सूचना दिएको छ ।

नगरपालिकाले सोमबार सार्वजनिक गरेको सूचनामा गौरीगंगा नगरपालिका–मसुरिया बजार क्षेत्रस्थित सडक छेउछाउमा अवैधानिक तथा अव्यवस्थित रूपमा अस्थायी टहरा तथा खोका निर्माण गरी सडक क्षेत्र अतिक्रमण गरिएको जनाएको छ ।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र त्यस्ता टहरा तथा खोका आफैँ हटाई सडक क्षेत्र खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

तोकिएको समयभित्र संरचना नहटाएमा आठौँ दिनमा सुरक्षा निकायको समन्वयमा नगरपालिका आफैँले टहरा तथा खोका हटाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिइएको छ ।
नगरपालिकाका अधिकृत चिरराज जोशीद्वारा जारी सूचनामा सडक क्षेत्रलाई व्यवस्थित बनाउन तथा सार्वजनिक सडक अतिक्रमण रोक्न यस्तो सूचना जारी गरिएको उल्लेख छ ।
नगरपालिकाले सम्बन्धित टहरा तथा खोका सञ्चालकलाई तोकिएको समयभित्रै संरचना हटाएर सडक क्षेत्र खाली गर्न आग्रह गरेको छ ।

















