कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले २४ ग्रामभन्दा बढी खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
लालझाडी गाउँपालिका–१ डाँडा बिच्छुवामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–१० घुईयाघाट बस्ने २४ वर्षीय सागर चौधरी र २३ वर्षीया विना नन्द रानाको साथबाट ८ ग्राम ९२३ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूले प्रयोग गरेको से ७ प १४१६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

यसैगरी, भीमदत्त नगरपालिका–१० गज्जरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ४३ वर्षीय महेश प्रसाद भट्ट र कृष्णपुर नगरपालिका–२ बाणी बस्ने ३१ वर्षीय हेमराज जोशी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १५ ग्राम ६७० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो। उनीहरूलाई लागूऔषध सेवन तथा बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद लागूऔषधसहित पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।















