अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आज पनि सडक अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काउने भएको छ । आइतबार देखि अत्तरिया बजार क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरेका संरचना हटाउन सुरु गरेको नगरपालिकाले आज पनि उक्त कामलाई निरन्तरता दिन लागेको हो ।
आइतबार नगरपालिका कार्यालय देखि सुरु भएको अतिक्रमण हटाउने काम महेन्द्रनगर रोडमा रहेको साहारा होटल सम्म सकिएको छ । आज बिहान १० बजेदेखि पुन सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काईने गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताएका छन ।


नगरपालिकाले डोजर चलाउन सुरु गरेपछि केही व्यक्तिले हिजो देखि आफै पनि संरचना हटाउन सुरु गरेका छन । नगर प्रवक्ता भट्टले आज पनि बाँकी क्षेत्रमा डोजर प्रयोग गरेर सडक अतिक्रमण गरेका संरचना भत्काइने भएकाले सो अगावै आफै हटाइदिन अनुरोध गरे । उनले भने ‘डोजर प्रयोग गरेर संरचना हटाउँदा ठूलो क्षति हुन्छ । त्यसैले डोजर पुग्नु अगावै संरचना हटाउन अनुरोध गर्दछु ।’
नगरपालिकाले सडक अतिक्रमण गरेर निर्माण गरेका संरचना हटाउन यसअघि ४ पटक सम्म सुचना जारी गरिसकेको जनाएको छ । अत्तरिया बजार क्षेत्रमा राजमार्ग किनारामा सडक व्यवसायीहरुले सडक अतिक्रमण गरी पसल अगाडी टिनका छज्जा निर्माण गरेका छन । नगरपालिकाले उक्त छज्जा सहितका अन्य संरचना हटाउन लागेको हो ।

















