डोटी– किबीका बोटले फल नदिएपछि डोटीका किसान चिन्तित बनेका छन । किबीखेतीमार्फत आम्दानी गर्दै आएका जिल्लाको बडीकेदार गाउँपालिकाका किसान बोटले फल नै नदिएपछि चिन्तित बनेका हुन ।

करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसानलाई यतिबेला चिन्ताले सताएको छ । ४ वर्षसम्मको लगानी र समय खेर जाने चिन्ताले सताउन थालेको उनिहरुको भनाई छ । गाउँपालिकाको वडा नं. ४ रनुकाँडाका किसान लक्ष्मण ताडीले किबीका रुखले फल नदिदा मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको बताए । ४ वर्ष अघि करिब पाँच रोपनी क्षेत्रफलमा किबी खेती सुरु गरेका उनले उत्पादन दिने समयसम्म किबीका बोटहरुले फल नदिदा राती समेत निन्द्रा नलाग्ने गरेको बताए ।

किबी अरु फलभन्दा फरक हुन्छ । यसमा भाले र पोथी हुने भएकाले कम्तीमा पाँच वटा बोट लगाउँदा एउटा बोट भाले लगाउनुपर्ने हुन्छ । भालेबोट नभएका कारण यस्तो समस्या देखिएको हुन सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीले बताए । ‘भालेबोट नभएका कारण यस्तो समस्या देखिएको हुन सक्छ’ उनले भने ‘यसलाई ‘टपवर्किङ’का माध्यमबाट समस्या समाधान गर्न सकिन्छ ।’ उनका अनुसार जिल्लामा एक हजारभन्दा बढी किबीका बोट लगाइएका छन् ।

















