खाेज्नुहाेस

डोटी उपेक्षामा परेको भन्दै बलायर लगायतका सांसदले बुझाए प्रधानमन्त्रीलाई मागपत्र

Image

काठमाण्डौं – डोटीको विकासलाई प्राथमिकतामा राख्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमाले सहितका जिल्लास्थित प्रतिनिधि मण्डलले यस्तो माग राखेको हो । उनीहरुले खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न पनि माग गरेका छन् । क्याम्पसको आवश्यक भौतिक पूर्वाधार निर्माणसहित अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट निर्माणमा प्राथमिकता दिन आग्रह गरिएको हो ।

navjiwan hospital

मागपत्र बुझाउन पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्य गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दीपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपा एमालेका जिल्ला अध्यक्ष मञ्जु मलासीलगायतले बालुवाटार पुगेका थिए ।

attariya hospital

दीपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयको मातहतमा डोटी प्राविधिक आङ्गिक क्याम्पसका रूपमा सञ्चालन हुने तयारी भए पनि जनशक्ति र बजेटको अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा ध्यानाकर्षण गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखकसहित उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको बताए । पुरानो गौरवपूर्ण इतिहास बोकेको डोटी विकासमा पछाडि परेको विषयमा आफू जानकार रहेकाले अब प्राथमिकतामा पर्ने विश्वास दिलाए ।