अत्तरिया- कञ्चनपुर र डोटीबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डास्थित बैजनाथ सामुदायिक वनमा रुखको टोड्काभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको हो।

सोमबार दिउँसो गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बेवारिसे अवस्थामा फेला पारेको थियो।
यस्तै, डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलाबाट पनि एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उक्त बन्दुक बेवारिसे अवस्थामा फेला पारेको हो।



















