खाेज्नुहाेस

कैलालीमा दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा

Image

कैलाली- कैलालीमा दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले राधे धामीसमेत गरी १५ जना र टीकापुर नगरपालिका–१ का एक जना गरी १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले मह विक्रेतालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसुरको मुद्दा पुस ५ गते जिल्ला अदालत कैलालीमा दायर गरिएको बताए ।

attariya hospital
navjiwan hospital

गत मङ्सिर १६ मा न्यूनस्तरको मह बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका–१, बसपार्कस्थित आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट ९४७ किलोग्राम मह र घारसहित १६ जनालाई पक्राउ गरेको थियो ।

बरामद गरिएको महको विश्लेषण प्रतिवेदन नेपाल सरकारद्वारा महका लागि तोकिएको अनिवार्य गुणस्तर अनुरूप नपाइएको खाद्य अनुसन्धान अधिकृत लामिछानेले बताए । उनका अनुसार फ्रुकटोज ग्लुकोज अनुपात तोकिएको अनिवार्य गुणस्तरभन्दा कम, पानीमा नघुल्ने ठोस पदार्थ तोकिएको अनिवार्य गुणस्तरभन्दा बढी र हाइड्रोक्सी मिथाइल फरफुरल (एचएमएफ) तोकिएको अनिवार्य गुणस्तरभन्दा बढी भएकाले दूषित प्रमाणित भएको हो ।

दूषित पदार्थ बिक्रीबापत एक वर्ष जेल वा चार लाख जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।