खाेज्नुहाेस

कञ्चनपुरमा चौधर नदीले भत्काएको नहरमा अस्थायी ‘चेक ड्याम’ बनाइँदै

Image

सन्तोष पन्त, बेलडाँडी – कञ्चनपुरको बेलडाँडीमा चौधर नदीले धार परिवर्तन गरी नहर फुटाएको ठाउँबाट बस्तीमा पानी पस्नबाट रोक्न तत्कालका लागि ‘चेक ड्याम’ बनाउन थालिएको छ । महाकाली सिचाइ कार्यालयले बेलडाँडी गाउँपालिकाको सहयोगमा शनिवार देखि चेक ड्याम बनाउन सुरु गरेको हो ।

कञ्चनपुरमा असार २४ गते आएको वर्षा सँगै चौधर नदीमा आएको बाढीले बेलडाँडी गाउँपालिका –५ भुर्षामा महाकाली सिचाइको शिव नगर मेन नहर भत्काइएको थियो । नहर भत्काएर चौधर नदी बस्ती पस्दा बेलडाँडी र बेलौरीको क्षेत्र तहसनहस भएको थियो ।

attariya hospital
navjiwan hospital

चौधर नदीमा अहिले पानीको सतह कम भए पनि पुनः वर्षांत भए थोरै नदीको सतह बढ्दा पनि बस्तीमा पानी पस्ने जोखिम रहेकाले तत्काल महाकाली बेलडाँडी गाउँपालिकाको सहयोगमा चेक ड्याम निर्माण गरिरहेको महाकाली सिचाइ जल उपभोक्ता समितिका केन्द्रीय अध्यक्ष भीम बहादुर थापाले बताए ।

‘नहर निर्माण तत्काल गर्ने अवस्था छैन । समस्या बजेटको हो’ अध्यक्ष थापाले भने ‘अहिले नदीको सतह घटे पनि वर्षातमा पानी पर्दा पुन : नहर भत्काइएको ठाउँबाट बस्तीमा पस्ने सम्भावना छ ।’ नहर तत्काल बनाउन नसकिए पनि भत्किएको ठाउँबाट पानी पस्न रोक्न चेक ड्याम निर्माण गरिरहेको उनले बताए ।

अध्यक्ष थापाका अनुसार सिचाइ कार्यालयको एक जेसिबी, एक एक्स्काभेटर, दुई ट्याक्टर र गाउँपालिकाको जेसिबी र टिप्पर सहायता गरेको छ । तत्काल पानी रोक्न करिब ६ फिट भन्दा बढी उचाइको ड्याम निर्माण गरिँदै छ ।