खाेज्नुहाेस

संस्कृति हराएको देउसी

Image

बिहिबार भाइटीकासँगै तिहार सकियो । यसवर्ष कार्तिक ५ गते बाट सुरु भएको तिहार बिहिबार १० गते सम्पन्न भएको हो । ५ दिनसम्म चलेको तिहारमा कुकुर तिहारको दिनदेखि देउसी खेल्न सुरु गरिएको थियो । प्रायःजसो ३ दिनसम्म खेलिने देउसीमा विभिन्न उमेरका मानिसहरुले आ–आफ्नो समूह बनाएर घर–घर गई भैली खेल्ने गर्दछन् ।

भैली (देउसी) मा देउसी खेल्ने घरलाई दरबार सम्झेर त्यसको बारेमा चर्चा गर्ने गरिन्छ । देउसी खेल्दै घरमालिकलाई धनधान्यको बरदान तथा आशिष दिने र घरमालिकबाट सगुन माग्ने गरिन्छ । परापूर्वकालमा गोलबद्ध भई वा एकतिर लामबद्ध भई घरअगाडि देउसी घरमालिकलाई दिइने बरदानका गीतहरु आफै गाउने र नाच्ने काम देउसीयाहरुले गर्दथे ।

attariya hospital
navjiwan hospital

तर, अहिलेको अवस्था भने फेरिएको छ । युवायुवतीहरूको समूहले देउसी खेल्ने भन्दै ठूलो डिजे साथमा बोकेर आधुनिक स्टाईलका गीतहरुमा नृत्य गर्ने चलन चलेको छ । परम्परागत शैलीको देउसी गीतको सट्टा आधुनिक गीतहरु अहिले तिहारको समयमा बढी प्रचलनमा आएका छन् । पुरानो संस्कृति र कलालाई आत्मसाथ गरेर खेलिने देउसीको रौनक अहिले छैन । अहिले त घरमा देउसी खेल्न आएका मान्छेहरु धम्क्याएर मागीरहेका छन की जस्तो भान हुन्छ ।

अहिलेको देउसी संस्कृति हराएको देउसी बनेको छ, कला गुमाएको देउसी बनेको छ । देउसीका गीतहरु कुनै फिल्मका गीतहरु भएका छन, देउसीको नृत्य आधुनिक स्टाईलको विदेशी डान्स बनेको छ । कला र संस्कृतिको जर्गेना हेतु खेलिने देउसीमा कला र संस्कृति कै अपमान भएको छ । यसवर्ष परम्परागत संस्कृति र कला लाई मिचेर आधुनिक युगको देउसी देखिएको छ ।

टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरूले देउसीरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठी खोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के–के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यो गीत गाउँदा साधारणतः एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसुरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन । तर विगतको जस्तो वर्तमानको देउसी देखिएन् । देउसीमा परम्परागत रुपमा नाइकेले हाल्ने लय थिएन, त्यसको सट्टा डिजेको घन्किदो लय सुनियो । टोली नाइकेले भट्टयाउने चलन हराएर डिजेले भट्टयाउने चलन सुरु भयो । नाच्ने पनि डिजेकै गीतमा र भट्ट्याउने पनि डिजे नै भएको अहिलेको देउसीको संस्कृतिले परम्परागत रुपमा चल्दै आएको पुरानो देउसी संस्कृतिलाई मारेकै हो त ?