धनगढी – ग्रामीण क्षेत्रको सार्वजनिक यातायात सेवा विस्तार गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले थप दुई वटा विद्युतीय (ईभी) मिनी बस खरिद गरेको छ । बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका बस आइतबार उपमहानगरपालिकाको कार्यालयमा आइपुगेका हुन् ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने, विद्यार्थीको आवतजावत सहज बनाउने तथा रोजगारीका लागि दैनिक ओहोरदोहोर गर्ने नागरिकलाई यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले बस खरिद गरिएको हो ।

नयाँ बसमार्फत स्याउले–घुर्सुवा हुँदै हसनपुर भएर धनगढी बजारसम्म यातायात सेवा सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख गोपाल हमालका अनुसार बस सञ्चालनमा आएपछि उक्त क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुनेछ । साथै स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको शैक्षिक पहुँच र रोजगारीका अवसरसँग ग्रामीण क्षेत्रको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले केही दिनअघि मात्रै ग्रामीण क्षेत्रका वडा नम्बर १२, १५, १६ र १७ का नागरिकलाई लक्षित गरी ६ वटा विद्युतीय मिनी बस ल्याएको थियो । त्यसैगरी फूलबारीदेखि अत्तरियासम्म ६ वटा नगर बस सञ्चालनमा छन् । थप दुई मिनी बससमेत सञ्चालनमा आएपछि उपमहानगरपालिकाको सार्वजनिक यातायात सेवा विस्तार हुनेछ । यसले ग्रामीण क्षेत्रका नागरिकलाई सहरी क्षेत्रसँग जोड्न थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।
















