खाेज्नुहाेस

सुदूरपश्चिममा बाल मृत्युदर राष्ट्रिय औसतभन्दा निकै बढी

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा नवजात शिशु, एक वर्षमुनिका बालबालिका र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर देशका अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी रहेको पाइएको छ ।

स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण प्रतिवेदन २०२४/२५ अनुसार सुदूरपश्चिममा प्रतिहजार जीवित जन्ममा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ । त्यस्तै, एक वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजारमा ३८ र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजारमा ४८ रहेको छ ।

attariya hospital

जबकि राष्ट्रिय औसत नवजात शिशु मृत्युदर प्रतिहजारमा १७, एक वर्षमुनिका बालबालिकाको मृत्युदर २७ र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ रहेको छ । यसले सुदूरपश्चिममा बाल मृत्युदर राष्ट्रिय औसतभन्दा निकै बढी रहेको देखाउँछ ।

प्रदेशगत तथ्यांकअनुसार नवजात शिशु र एक वर्षमुनिका बालबालिकाको मृत्युदर सबैभन्दा कम बागमतीमा क्रमशः १० र १७ रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर भने गण्डकीमा सबैभन्दा कम प्रतिहजारमा २० रहेको छ ।

स्वास्थ्य निर्देशक डा. खगेन्द्रबहादुर बमका अनुसार गरिबी, बालविवाह, किशोरी अवस्थामा गर्भधारण, छाउपडी प्रथा र अन्धविश्वास बाल मृत्युदरका प्रमुख चुनौती हुन् । ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच र जनचेतनाको अभाव तथा कुपोषणले समेत बाल मृत्युदर बढाउन भूमिका खेलेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

यद्यपि, विगतको तुलनामा सुदूरपश्चिममा बाल मृत्युदर घट्दै गएको छ । सन् २०११ मा प्रतिहजार जीवित जन्ममा ४१ रहेको नवजात शिशु मृत्युदर सन् २०२४/२५ मा २६ मा झरेको छ । त्यस्तै, एक वर्षमुनिको मृत्युदर ६५ बाट ३८ र पाँच वर्षमुनिको मृत्युदर ८२ बाट ४८ मा झरेको प्रतिवेदनमा उल्लेख छ ।