खाेज्नुहाेस

तिहार सभ्य रुपमा मनाऔं

Image

यतिबेला नेपालीहरुको दोस्रो महान् चाड तिहार नेपालीको आँगनमा भित्रिसकेको छ । हिन्दु नेपाली दिदीबहिनी दाजुभाइ तिहारको तयारीमा जुटिसकेका छन् । आँगनमा ढकमक्क फुलेका मखमली र सयपत्रीले तिहार उमंग थपिसकेको छ । कात्तिक कृष्ण त्रयोदशी दिनदेखि सुरु भएको यो पर्व पाँच दिनसम्म मनाइन्छ । कात्तिक शुक्ल पक्षको द्धितीयामा भाइटिका लगाएपछि तिहार सम्पन्न हुन्छ । हिन्दु धर्मशास्त्रले तिहारको पाँच दिनलाई यमपञ्चकको रुपमा व्याख्या पनि गर्छ ।

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

attariya hospital

यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस’ भन्ने वरदान मागिन् ।

navjiwan hospital

यमराजले पनि तथास्तु भन्दै ‘मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसंग भातृपूजा गर्ने गराउनेहरुको सदा उन्नति हुने तथा कीर्ति पनि फिजिने वर दिई आफ्नी बहिनीसंग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्न रुपले यो पर्व मानिइँदै आएको परम्परा छ ।

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत पनि गरेको छ । काग, कुकुर, गाई अनि गोरुको पुजा गर्ने परम्परा मानव र पशुबीचको प्रगाढ सम्बन्धको संकेत पनि हो ।

तिहार पर्व विशुद्ध पारिवारिक आत्मियता अनि कोमलताको पर्व पनि हो । तर, पछिल्लो समय रमाइलो गर्ने नाममा यो चाड पनि भड्किलो बन्दै गएको छ । आफ्नो हैसियत भन्दा धेरै खर्च गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । अर्कोतिर, देउसी भैलोको नाममा होहल्ला गर्ने, चन्दा माग्ने विकृतिहरु पनि बढेका छन् । पर्वका समयमा हुने यस्ता गलत प्रवृत्ति अन्त्य गर्न प्रथमतः व्यक्ति स्वयं सचेत हुन जरुरी छ ।

अर्कोतर्फ बढ्दै गएको विकृति अन्त्य गरी सभ्य तरिकाले तिहार मनाउने वातावरण सिर्जना गर्न स्थानीय प्रशासनको चासो पुग्न जरुरी छ । यसवर्षको तिहारमा आफ्नो संस्कृतिको रक्षा गर्दै सभ्य र भब्य रुपमा मनाऔं ।