खाेज्नुहाेस

प्रकाश देउवालाई पदमुक्त गरेकोप्रति निवर्तमान मुख्यमन्त्री शाहको आपत्ति

Image

धनगढी – सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवालाई बर्खास्त गरिएको प्रति आपत्ति जनाएका छन् । बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश सभा सदस्य देउवालाई बर्खास्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका हुन् । ‘हाम्रो एउटा कुरामा गम्भीर ध्यानाकर्षण भएको छ, माननीय प्रकाश देउवालाई एक्कासी बर्खास्त गर्ने जुन निर्णय सभामुखले गर्नुभयो, यसका पछाडिको नियत के हो ?,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले प्रश्न गर्दै भने, ‘यो सम्बन्धित पक्षले स्पष्ट पार्न जरुरी हुन्छ ।’

कांग्रेस संवैधानिक पाटो र कानुनी बाटोका लागि खुला रुपमा छलफल गर्न तयार रहेको भन्दै उनले प्रदेश सभा सदस्यलाई बर्खास्त गर्दा एक पटक सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्नु प्राकृतिक न्यायको सिद्धान्त भएको जिकिर गरे ।

attariya hospital

‘हाम्रा संवैधानिक पाटाहरू छन्, कानुनी बाटाहरू छन् । यो सबै कुरामा हामी खुला रुपले छलफल, बहस गर्न तयार छौं,’ शाहले भने, ‘हामी यो जायज हो अथवा नाजायज हो भन्दैनौं । तर, एउटा कुरा हामी प्रस्ट के भन्छौं भने कुनै पनि प्रदेश सभा सदस्यलाई हटाउँदै गर्दा प्राकृतिक न्यायको सिद्धान्तले पनि एकचोटी उसलाई सोध्नु पर्छ ।’

navjiwan hospital

निवर्तमान मुख्यमन्त्री शाहले यसअघि पनि प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई हटाउँदा सर्वोच्च अदालतले ‘स्टे अर्डर’ जारी गरेको घटना पनि स्मरण गरे । ‘यसभन्दा पहिला पनि यस्तै किसिमका घटनाहरु भएका छन्,’ उनले भने, ‘सीमित उद्देश्य पूर्तिका लागि माननीय इन्दिरा गिरीजीलाई प्रदेश सभा सदस्यबाट हटाइयो, सर्वोच्चबाट त्यसको स्टे आएको छ ।’

शाहले सभामुखले दलीय अंकगणितलाई हेरेर कदमहरू अगाडि बढाउनु नहुनेमा जोड दिए । ‘यसमा सभामुख विशेष गरी गम्भीर हुनुपर्छ । सभामुख भइकेपछि सभामुखले दलीय मान्यतालाई आधार मानेर दलको निर्णय, दलको अंकगणित हेरेर आफ्ना कदमहरु अगाडि बढाउनु हुँदैन ।’

प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि कांग्रेसका प्रदेश सभा सदस्य देउवा मंगलबार मुक्त भएका थिए ।

प्रदेश सभा सचिवालयले पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले देउवालाई संविधानअनुसार पद मुक्त गरिएको जनाएको छ ।